१९ वैशाख,काठमाडौं । विश्वविद्यालयले शैक्षिक पात्रो नियमित बनाउन अनियमित रहेका परीक्षाहरू तीव्र रूपमा सञ्चालन गर्न थालेको छ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेल का अनुसार आगामी साउनदेखि नियमित पात्रोअनुसार परीक्षा सञ्चालन गर्ने लक्ष्यसहित अहिले महिनामा तीनदेखि चार प्रकारका परीक्षा सञ्चालन भइरहेका छन्। २०५३ सालदेखिका मौका परीक्षा समेत असारसम्म सम्पन्न गर्ने तयारी गरिएको छ।
वैशाख महिनामा मात्रै स्नातक तह अन्तर्गत बिएएलएलबी दोस्रो वर्ष, नियमित दोस्रो वर्ष, वि.टेक पहिलो र दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका छन्। जेठ महिनाका लागि तीनवर्षे र चारवर्षे स्नातक पहिलो वर्ष, बिएएलएलबी तेस्रो वर्ष तथा वि.टेक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भइसकेको छ।
असार महिनामा भने स्नातक तहका सबै संकायको चौथो वर्षको नियमित परीक्षा सञ्चालन गर्ने योजना रहेको छ। विश्वविद्यालयले कोरोना महामारी र त्यसपछिका आन्दोलनका कारण प्रभावित शैक्षिक तालिका असारसम्म व्यवस्थित गरी साउनदेखि पूर्ण रूपमा नियमित प्रणालीमा फर्किने जनाएको छ।
हाल सञ्चालन भइरहेका परीक्षामा करिब एक लाख १५ हजार परीक्षार्थी सहभागी भएका छन्।
यसैबीच परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सम्पन्न भएको १०० दिनभित्रै नतिजा प्रकाशित गर्ने प्रणालीलाई पनि निरन्तरता दिएको जनाएको छ।

















