Logo

१९ वैशाख,वीरगञ्ज । सरकारले सीमावर्ती क्षेत्रमा भन्सार जाँचमा कडाइ गरेपछि वीरगञ्ज बजारमा ग्राहकको चहलपहल बढ्दै गएको व्यवसायीहरूले बताएका छन्। पहिले अधिकांश उपभोक्ताले दैनिक उपभोग्य सामान खरिदका लागि सीमा पारी जाने गरे पनि हालको कडाइपछि स्थानीय बजारमै किनमेल बढ्न थालेको हो।

व्यवसायीहरूको अनुसार हाल वीरगञ्ज बजारको व्यापार करिब २५ प्रतिशतले वृद्धि भएको छ। स्थानीय व्यापारी जयप्रकाश खेतानले भन्सारमा कडाइ सुरु भएपछि आफ्नो पसलको कारोबार मात्र करिब ३० प्रतिशतले बढेको बताए।

सीमा क्षेत्रमा अवैध व्यापार नियन्त्रण गर्न सके व्यापार अझै बढेर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने अपेक्षा व्यवसायीहरूको छ। यस्तै, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले सीमा क्षेत्रका बासिन्दाले ठूलो परिमाणमा सामान ल्याउने पुरानो अभ्यास अहिलेको प्रावधानले प्रभावित भएको बताएका छन्।

यसैबीच, वीरगञ्ज भन्सार कार्यालय का सूचना अधिकारी उदयसिंह विष्टले कडाइका कारण अनौपचारिक आयात घट्दै गएको र राजस्व संकलनमा सुधार देखिएको जानकारी दिएका छन्।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा मात्रै ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन्। यस अवधिमा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

विश्लेषकहरूका अनुसार सीमामा निगरानी कडा हुँदा एकातिर अवैध कारोबार घट्ने र अर्कोतर्फ स्थानीय बजारमा व्यापारिक गतिविधि बढ्ने प्रवृत्ति देखिएको छ।


सम्बन्धित समाचार