Logo

१९ वैशाख,सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यान परिसरभित्रै ८६ वटा बम फेला परेपछि नेपाली सेनाको टोलीले ती बम निष्क्रिय पारेको छ।

प्रहरी कार्यालयभित्र प्रशिक्षण भवन निर्माणका लागि जग खन्ने क्रममा बमहरू फेला परेका थिए। फेला परेकामध्ये ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक थान बोतल बम रहेका छन्।

प्रहरीका अनुसार थप उत्खनन गर्दा सात थान रेडियो वेभ, ५०० ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने करिब दुई किलो सामग्री तथा १० मिटर फायरिङ केबल समेत बरामद भएको छ। हेमबहादुर केसी ले जानकारी दिँदै बम फेला परेपछि तत्कालै नेपाली सेनासँग समन्वय गरिएको बताए।

नेपाली सेना अन्तर्गत सिद्धीबक्स गण सिमखर्क र कालीभक्ती गण भैरहवाबाट खटिएको टोलीले शनिबार दिउँसो बमहरू सुरक्षित रूपमा निष्क्रिय पारेको हो।

प्रारम्भिक अनुमानअनुसार ती बम सशस्त्र द्वन्द्वकालका बेला बंकरमा राखिएको अवस्थामा रहेको र समयसँगै माटोले पुरिएको हुन सक्ने बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।


सम्बन्धित समाचार