Logo

२२ बैशाख, काठमाडौं । अनुमतिपत्र रद्द भई सरकारी नियन्त्रणमा आएको स्मार्ट टेलिकम प्रालिको सम्पत्ति बेइमानीपूर्वक हिनामिना गरेको अभियोगमा प्रहरीले सर्वेश जोशीलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ४५ वर्षीय जोशीलाई सोमबार काठमाडौंको खुर्सानीटारबाट नियन्त्रणमा लिएको हो । नेपाल सरकारको स्वामित्वमा आइसकेको भौतिक पूर्वाधार र संरचनामाथि ठगी तथा आपराधिक विश्वासघात गरेको गम्भीर आरोप जोशीमाथि लागेको छ ।

नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स २०८० वैशाख ३ गते स्वतः रद्द भएको थियो, जसपश्चात् ‘दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली’ बमोजिम कम्पनीका सम्पूर्ण सञ्जाल र पूर्वाधारहरू दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा रहेका थिए ।

पक्राउ परेका जोशीले सरकारी नियन्त्रणमा रहेको सम्पत्तिलाई व्यक्तिगत लाभका लागि प्रयोग गर्दै नेपाल सरकारको हक टुटाउने उद्देश्यले काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएरै उनलाई हिरासतमा लिइएको हो ।

हाल जोशीलाई हिरासतमा राखेर ठगी तथा आपराधिक विश्वासघातको कसुरमा थप अनुसन्धान अगाडि बढाइएको सिआईबीले जनाएको छ । ठूलो लगानी रहेको दूरसञ्चार कम्पनीको सम्पत्ति व्यवस्थापनमा भएको यो बदमासीलाई प्रहरीले विशेष प्राथमिकताका साथ हेरिरहेको छ ।


सम्बन्धित समाचार