Logo

१५ वैशाख, काठमाडौं । आज विश्व कार्यसुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओको संयुक्त आयोजनामा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम हुँदै आएको छ ।
सन् २००३ देखि सुरक्षित, स्वस्थ्य र सभ्य कामलाई प्रोत्साहन गर्न यो दिवस मनाउन थालिएको हो । यस वर्षको नारा ‘सकारात्मक, सुरक्षित र स्वस्थ्य संस्कार निर्माणका लागि सामूहिक पहल गरौँ’ भन्ने रहेको छ ।

दिवसका अवसरमा मन्त्रालय र आईएलओले संयु्क्तरूपमा ‘सुरक्षित तथा स्वस्थ्य कार्य वातावरण, एक मौलिक अधिकार’ शीर्षकमा पोष्टरको सार्वजनिकीकरण समेत गरेको छ । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले कार्यसुरक्षा र स्वास्थ्यका लागि राज्यका सबै अङ्ग परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।
सरकारले २०५२ सालमा ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी आयोजना’ को स्थापना गरेको थियो । यस आयोजनालाई २०७५ सालमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको रूपमा रहने गरी स्थायी सङ्गठन संरचना स्वीकृत भएको थियो ।

श्रमिकले अझै पनि कार्यस्थलमा सुरक्षित महसुस गर्न नसकेको नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट० का अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । श्रम ऐन, २०७४ मा रोजगारदाताले कार्यस्थलमा श्रमिकको सुरक्षा र स्वास्थ्यसम्बन्धी नीति बनाउनुपर्ने, सुरक्षा तथा स्वास्थ्य समिति बनाउनुपर्ने व्यवस्था छ ।

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, २०७६ मा रोजगारदाताले कार्यस्थलमा रासायनिक, भौतिक वा जैविक पदार्थ वा उपकरणको प्रयोग, सञ्चालन, सञ्चय र परिवहन गर्दा सुरक्षा र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ ।

श्रमिकलाई तालिमसँगै सुरक्षा साधन उपलब्ध गराउनु रोजगारदाताको कर्तव्य हो । यो नीतिले श्रमिकलाई सङ्क्रामक रोग नियन्त्रण र व्यवसायजन्य रोगको उपचारसम्बन्धी व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओको तथ्याङ्क अनुसार हरेक वर्ष ३७ करोड ४० लाख श्रमिक कामसम्बन्धी दुर्घटनामा पर्छन् ।

विश्वमा हरेक वर्ष १६ करोड श्रमिक व्यवसायजन्य रोगबाट प्रभावित छन् । यस्तै २७ लाख ८० हजार श्रमिकको कामसम्बन्धी दुर्घटना र व्यवसायजन्य रोगका कारण ज्यान जाने गरेको छ । विश्वमा हरेक दिन सात हजार छ सयभन्दा बढी श्रमिकको कामसम्बन्धी दुर्घटनाका कारण ज्यान जाने गरेको पाइन्छ ।


सम्बन्धित समाचार