२९ बैशाख, काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उत्तर–दक्षिण कोशी राजमार्गको सबैभन्दा चुनौतीपूर्ण मानिएको च्याम्ताङ–घोङ्गप्पा १०.८१ किलोमिटर सडकखण्ड निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ ।
भारतको जोगबनीदेखि चीनको किमाथाङ्का जोड्ने नेपालको सबैभन्दा छोटो त्रिदेशीय व्यापारिक मार्गको यो हिस्सा अत्यन्तै कठिन भूगोल र कडा चट्टानी पहराका कारण प्राविधिक रूपमा जटिल मानिएको थियो ।
२०७७ सालदेखि निर्माण सुरु गरिएको यस खण्डमा विस्फोटक पदार्थको प्रयोग र हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सेनाले करिब पाँच वर्षमा ट्रयाक खोल्ने र स्तरोन्नतिको काम पुरा गरेको हो ।
करिब ६२ करोड ३६ लाख रुपैयाँ लागतमा सम्पन्न यो सडक सञ्चालनमा आएसँगै कोशी प्रदेशका विभिन्न जिल्लाहरू प्रत्यक्ष लाभान्वित हुनेछन् भने नेपालको उत्तर–दक्षिण जोड्ने कनेक्टिभिटीमा यसले ऐतिहासिक महत्त्व राख्नेछ ।
















