Logo

२९ बैशाख, चितवन । माडीको शैक्षिक क्षेत्रमा यस वर्षको एसईई नतिजाले नयाँ उत्साह थपेको छ । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजासँगै माडीका विद्यार्थीहरूले आफ्नो क्षमता र मेहनतलाई प्रभावशाली रूपमा प्रस्तुत गरेका छन् ।

यस वर्ष माडी नगरस्तरमा सोमेश्वर माध्यमिक विद्यालय बरुवाका छात्र प्रसिस ढकालले ३.९५ जिपिए प्राप्त गर्दै प्रथम स्थान हासिल गरेका छन् । उनको यो उपलब्धिले विद्यार्थी, अभिभावक र विद्यालय परिवार सबैमा गर्वको अनुभूति गराएको छ ।

त्यसैगरी सोमेश्वर माध्यमिक विद्यालयकै छात्र हिमाल दवाडी, दिवाकर स्मृति माध्यमिक विद्यालयकी छात्रा प्रसिद्धि पाठक तथा जनकल्याण माध्यमिक विद्यालयकी छात्रा सलिना पौडेलले समान ३.९१ जिपिए ल्याउँदै उत्कृष्ट दोस्रो स्थान हासिल गरेकी छन् ।

यसपटक नियमित तथा ग्रेडवृद्धिसहित कूल ५२० जना परीक्षार्थी सहभागी भएका थिए । देशभरकै नतिजामा सुधार देखिएको वर्ष माडीका सामुदायिक तथा संस्थागत विद्यालयहरूले पनि विगतको तुलनामा उल्लेखनीय प्रगति गरेका छन् ।

माडी नगरपालिकाका सूचना अधिकारी प्रविण भण्डारीले यस वर्षको नतिजाले माडीको शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए । उनले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको निरन्तर समर्पण तथा अभिभावकको सहयोगका कारण नतिजामा सुधार आएको उल्लेख गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर अझ सुदृढ बनाउन नगरपालिका थप योजनाबद्ध रूपमा अघि बढ्ने बताए ।

यो नतिजाले माडीमा शैक्षिक वातावरण क्रमशः मजबुत बन्दै गएको संकेत गरेको छ । विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको साथले आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल हुने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै