Logo

२९ बैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा हलुका सवारी चालकका रूपमा कार्यरत २७ वर्षीय मुस्तकिम मियाँलाई अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहार गरेको गम्भीर अभियोगमा प्रहरीले सप्तरीको राजविराजबाट पक्राउ गरेको छ ।

सप्तरीका एसपी गौतम केसीका अनुसार, मियाँसहितको समूहले २०८२ फागुन १४ गते राजु कुमार चौधरीलाई बन्दुक देखाएर अपहरण गरी एकान्त स्थानमा लगेर कुटपिट गर्नुका साथै अपमानजनक व्यवहार गर्दै मोबाइल, सुनको सिक्री र नगद १ लाख ३० हजार रुपैयाँ लुटेको आरोप छ ।

पीडितले आफूलाई नाङ्गै पारेर भुइँको थुक चाट्न लगाएको समेत बयान दिएका छन् । मियाँ २०८२ चैतमा मन्त्रीको सचिवालयमा नियुक्त हुनुअघि नै विद्युतीय अपराध र अर्का एक व्यक्तिलाई कुटपिट गरेको दुई अन्य मुद्दामा समेत फरार प्रतिवादी रहेको खुलेको छ ।

जिल्ला अदालत सप्तरीको अनुमतिपछि पक्राउ परेका उनीमाथि अहिले अपहरण, शरीर बन्धक र अमानवीय व्यवहार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य तीन जना अझै फरार रहेका छन् ।


सम्बन्धित समाचार