Logo

३० बैशाख, काठमाडौँ । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरू खाली गराउन डोजर अभियान चलाएको विरोधमा अखिल नेपाल सुकुम्बासी संघले कडा आन्दोलनको घोषणा गरेको छ ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले गुठी तथा बिर्तापीडित समुदायमाथि भइरहेको जबर्जस्ती उठीवासका विरुद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो । संघले सरकारको यस कदमलाई अदालतको आदेशविपरीतको कार्य भन्दै कडा शब्दमा निन्दा समेत गरेको छ ।

अदालतको आदेश उल्लंघन र सेनाको हस्तक्षेपमा आपत्ति

संघका अध्यक्ष अमर परियारले सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली नगराउन अन्तरिम आदेश दिइसकेको अवस्थामा पनि कोहलपुरमा सुकुम्बासी बस्तीमाथि डोजर चलाइएको भन्दै तीव्र आक्रोश व्यक्त गर्नुभयो ।

सरकारले न्यायपालिकाको आदेशमाथि धावा बोलेको र यस कार्यमा नेपाली सेनालाई समेत विवादमा तान्ने गरी परिचालन गरिएको उहाँको आरोप छ । यस्तो हस्तक्षेपकारी र गैरकानुनी कदमका विरुद्ध निर्णायक संघर्ष गर्ने संघले चेतावनी दिएको छ ।

बिहीबार चार घण्टा चक्काजामको तयारी

घोषित आन्दोलन अन्तर्गत संघले भोलि वैशाख ३१ गते बिहीबार दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरेको छ। जसअनुसार बिहान ६ बजेदेखि १० बजेसम्म देशभर चक्काजाम गर्ने निर्णय गरिएको छ ।

उक्त ४ घण्टाको अवधिमा कुनै पनि सवारी साधन सञ्चालन नगरी आन्दोलनलाई सहयोग पुर्‍याउन संघले यातायात व्यवसायी र सर्वसाधारणमा अपिल गरेको छ । यसअघि वैशाख ११ गते पहिलो चरणको आन्दोलन गरेको संघले सरकारले आफ्ना माग सम्बोधन नगरे थप कडा कदम चाल्ने संकेत दिएको छ ।


सम्बन्धित समाचार