३० बैशाख, काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोधपछि उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख डोलप्रसाद अर्यालले राजनीतिक परामर्श थाल्नुभएको छ ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने माग गर्दै विपक्षीले सदन अवरुद्ध गरेपछि सभामुखले विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल अगाडि बढाउनुभएको हो । बुधबारको कार्यसूची अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले दिनुपर्ने थियो ।
तर, प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीलाई जवाफ दिन समय उपलब्ध गराएपछि विपक्षी सांसदहरूले सदनमा उठेर कडा विरोध जनाएका थिए । प्रधानमन्त्रीले सदनलाई उपेक्षा गरेको भन्दै विपक्षी दलहरूले प्रधानमन्त्रीकै उपस्थितिलाई अनिवार्य सर्त बनाएका छन् ।
सहमति जुटाउने प्रयासमा सभामुख
विपक्षी दलहरूको निरन्तरको विरोध र नाराबाजीका कारण सदनको कारबाही अगाडि बढ्न नसकेपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।
सोही समयको सदुपयोग गर्दै उहाँले कार्यव्यवस्था परामर्श समितिको भावना अनुसार सदन सुचारु गर्न दलहरूबीच सहमति जुटाउने प्रयास गरिरहनुभएको छ । प्रमुख सचेतकहरूसँगको यो वार्ताले प्रधानमन्त्रीको उपस्थिति वा वैकल्पिक व्यवस्थाबारे ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।

















