Logo

३० बैशख, काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव टेबल भएको छ ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नुभएको हो । सभामुखले अर्थमन्त्री वाग्लेलाई प्रस्ताव राख्न समय दिएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने अडान दोहोर्‍याउनुभयो । उहाँले आफूहरूले प्रस्ताव टेबल गर्न दिएर प्रधानमन्त्रीको सम्मान गरेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखसँग रुलिङको माग समेत गर्नुभयो ।

सभामुखले नीति तथा कार्यक्रममा ३५ जना सांसदको संशोधन प्रस्ताव परेको जानकारी दिँदै सदनको कारबाही अघि बढाउन विपक्षीलाई आसन ग्रहण गर्न आग्रह गर्नुभयो । सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र उहाँको उपस्थितिबारे तय गर्न सकिने भन्दै विपक्षीलाई सहयोग गर्न अनुरोध गरे पनि सांसदहरूले उभिएर विरोध जारी राखेका थिए ।

प्रतिपक्षी नेता आङ्देम्बेले सदनको निकास र छलफलका लागि आफूहरूले सभामुखलाई सहयोग गरिरहेको बताउँदै प्रधानमन्त्रीको जवाफदेहिता अनिवार्य भएको तर्क गर्नुभयो । सभामुखले समय सीमा तोकेर बोल्न दिएकोमा समेत आपत्ति जनाउँदै विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति नभएसम्म आफ्नो विरोध जारी रहने संकेत दिएका छन्, जसका कारण सदनको कार्यसूची प्रभावित भएको छ ।


सम्बन्धित समाचार