Logo

१६ वैशाख, वीरगञ्ज । पर्साको धोबीनि गाउँपालिकामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीचको विवादका कारण विगत एकहप्तादेखि लगाइएको तालाबन्दी खुलेको छैन । अध्यक्षको मनोमानीका कारण रुष्ट बनेका वडाध्यक्षहरुले गाउँपालिका कार्यालयमा एक हप्ताअघि गरेको तालाबन्दी हालसम्म पनि नखुलेको हो ।

गाउँपालिकाकी उपाध्यक्षसहित वडाध्यक्षहरुले पालिका अध्यक्ष मदनप्रसाद चौहानले मनोमानी गरेको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।गाउँपालिकामै तालाबन्दी हुदाँ सेवा लिन आउका सेवाग्राही मर्कामा परेका छन् । दैनिक कामकाजका लागि पालिका धाईरहेको सेवाग्राहीहरु कार्यालयमा तालाबन्दी हुदाँ रित्तै हात फर्कत बाध्य भएका छन् ।

अध्यक्ष चौहानले पालिकामा भएका करारका कर्मचारीलाई बिना बोर्ड बैठकमा पास गरेर हटाएको, गाउँपालिकामा नियमित रुपमा अध्यक्ष उपस्थित नभएको, कर्मचारी कार्यालयमा नआएको लगाायत समस्यालाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएपछि गाउँपालिका कार्यालयमा ताल्चा लगाइएको वडा नम्बर ३ का वडाध्यक्ष राजकिशोर प्रसाद कुर्मीले जानकारी दिनुभयो ।

विगत एकहप्तादेखि कार्यालय बन्द हुँदा सेवाग्राहीसँगै जनप्रतिनिधि लगायत विभिन्न भुक्तानी लिने ठेकेदार समेतलाई समस्या भएको उहाँले बताउनुभयो । यस विषयमा आफूहरुले बसेर छलफल गर्न भने पनि अध्यक्ष चौहानले अटेर गरेको उहाँको भनाई छ ।

गाउँपालिका अध्यक्ष चौहानले गरेको मनोमानीकै कारण आफूहरु बाध्य भएर तालाबन्दी गर्ने कार्यमा उत्रिएको वडा नम्बर १ का वडाध्यक्ष बन्धु साह तेलीले बताउनुभयो । ६ महिनामै गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीले ३५ लाखको तेल नै सकाएको तथा त्यसैको बारेमा हिसाब गर्न बोर्ड बैठक राख्न भन्दा गाउँपालिका अध्यक्ष चौहानले नमानेको जस्ता अन्य धेरै बेथिती पालिकामा देखिएकाले त्यसको समाधान गर्नुपर्ने माग आफुहरुको रहेको वडाध्यक्ष तेलीको भनाई छ ।

यता गाउँपालिका अध्यक्ष चौहानले वडाध्यक्षहरुले राजनीतिक प्रतिशोधका कारण पालिकामा तालाबन्दी गरेको जानकारी दिनुभयो । उहाँले कर्मचारी हटाएको बिषयमा बोर्ड बैठकमा सबै बोर्ड सदस्यहरुको सहमतिमै हटाईएकाले त्यसमा विवाद गर्नु झुटो आरोप मात्र लगाईएको बताउनुभयो । गाउँपालिकामा तालाबन्दी भएदेखि आफू कार्यालयमा नगएको अध्यक्ष चौहानले स्विकार्दै अन्य कर्मचारीहरु भने पालिकामा गएर काम गरिरहेको बताउनुभयो ।

यसअघिका निर्वाचित जनप्रतिनिधिले चाहिनेभन्दा पनि कार्यकर्तालाई कर्मचारीको रुपमा भर्ना गरेकोले उनीहरुलाई हटाउनुपरेको अध्यक्ष चौहानको भनाई छ ।

 


सम्बन्धित समाचार