३१ बैशाख, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर बैंकिङ क्षेत्रका चारवटा प्रमुख छाता संगठनहरूले कडा विरोध जनाएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पाण्डेलाई नियन्त्रणमा लिएपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ लाई उद्धृत गर्दै कर्जा असुली गर्नु बैंकको कानुनी अधिकार र सीईओको मूल दायित्व भएको उल्लेख गरिएको छ । कर्जा असुलीकै प्रक्रियालाई लिएर बैंकको नेतृत्व तहलाई पक्राउ गर्दा समग्र बैंकिङ प्रणालीको साखमा गिरावट आउने र वित्तीय स्थायित्वमा गम्भीर आँच पुग्ने ती संघहरूको ठहर छ ।
बैंकिङ जगतका प्रतिनिधिमूलक संस्थाहरूले यो कदमले लगानीको वातावरण र कर्मचारीहरूको मनोबलमा समेत नकारात्मक असर पुऱ्याउने दाबी गरेका छन् । बैंकिङ संगठनहरूले ‘थुन अनि सुन’ को प्रचलित प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै ‘सुन अनि थुन’ को सिद्धान्तलाई आत्मसात् गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन् ।
सीईओ पाण्डेलाई यथाशीघ्र थुनाबाहिरै राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै उनीहरूले अनुसन्धानमा बैंक र पाण्डेका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाएका छन् । यस घटनाले बैंकिङ कसुर र कर्जा असुलीका कानुनी सीमाबारे नयाँ बहस छेडिदिएको छ ।

















