३१ वैशाख,वीरगञ्ज । वीरगञ्जस्थित हरिखेतान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख किशोरी रायमाथि बिहीबार बिहान क्याम्पस परिसरभित्रै एक समूहले दुव्र्यवहार गर्दै कालोमोसो दलेको घटना भएको छ।
प्रत्यक्षदर्शीका अनुसार पाँचदेखि छ जनाको समूहले क्याम्पस प्रमुख रायलाई लछारपछार गर्दै कालोमोसो दलेका हुन्। घटनापछि क्याम्पस परिसर केही समय तनावग्रस्त बनेको थियो।
सामुदायिक क्याम्पस हरिखेतानलाई सञ्चालक समितिले हस्तक्षेप गरेर निजीकरण गर्न खोजेको आरोप लगाउँदै विगत एक वर्षदेखि क्याम्पसभित्र विवाद चल्दै आएको छ। पछिल्लो समय पुनः नियुक्त गरिएका क्याम्पस प्रमुख राय र सञ्चालक समितिको मिलेमतोमा करारमा कार्यरत चार शिक्षकलाई सेवाबाट हटाउने निर्णय भएपछि विवाद थप चर्किएको बताइएको छ।
क्याम्पस प्रशासनले वैशाख २१ गतेदेखि लागू हुने गरी शिक्षकहरू लालकिशोर प्रसाद पटेल, रविन्द्र कुमार यादव, पूजा गुप्ता र दिलिप कुमार पण्डितको करार सेवा अन्त्य गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको विरोधमा शिक्षक तथा कर्मचारीहरूले क्याम्पसमा तालाबन्दी गर्नुका साथै धर्ना दिँदै आएका थिए।
क्याम्पस प्रमुख रायले पटक–पटक ताला खोल्न आग्रह गरे पनि विवाद समाधान हुन नसकेको अवस्थामा बिहीबार उनीमाथि कालोमोसो दलिएको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेहरू क्याम्पसकै दुई कर्मचारी रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















