Logo

१६ वैशाख, वीरगञ्ज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सामाजिक सदभावले मात्रै राष्ट्रिय एकता बलियो हुने बताउनु भएको छ । अम्बिका ममता स्मृति प्रतिष्ठानले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले दुई ठूला जनसंख्या भएको देशकोबीचमा रहेको नेपालमा बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समुदायहरुको बसोबास रहेकोले एक अर्काप्रतिको सामाजिक सदभावले मात्रै राष्ट्रिय एकता मजबुद हुने बताउनु भएको हो ।

व्यावसायिक केन्द्रको रुपमा विस्तार गरिएको सभ्यता, संस्कृति जीवनसँग जोडिएको वीरगन्जमा शिक्षामा योगदान गर्ने शिक्षकहरुलाई सम्मान गर्नु प्रशंसनीय रहेको बताउनुभयो । नेपालको संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा लेखिएपनि अहिले शिक्षा र स्वास्थ्य नागरिकको पहुँचमा पु¥याउने चुनौती देखिएको बताउनुभयो ।

देशलाई आर्थिक विकास गर्नका लागि सामाजिक सदभाव आवश्यक रहेको औल्याउदै यहि क्रममा बीचमा अनेक खालका विग्रह गर्ने खालका गतिविधिले नोक्सान धेरै भएको पनि बताउनुभयो । अमेरिकलाई आप्रवासीहरुको देश र नेपाल अल्पसंख्यकहरुको देश रहेको उल्लेख गर्दै उहाँले संसारको सबैभन्दा ठूलो जनसंख्या भएको देश भारतसँगको खुला सीमाना र प्राकृतिक रुपमा हिमालको सीमा भएको दोश्रो ठूलो जनसंख्या भएको चीनको बीचमा रहेको नेपालमा सामाजिक सदभाव सहितको राष्ट्रिय एकताले मात्रै देशको अस्तित्व रहन सक्ने बताउनु भएको हो ।

कुनै फौजी ताकतको बलमा बाँच्न नसकिदैन तर्क गर्दै उहाँले देशको अस्तित्व कायम राख्ने हो भने सामाजिक सदभाव कायम राख्नु नै मुख्य रहेकोमा जोड दिनुभयो ।

हामी बच्नको लागि सुरक्षित हुनका लागि सामाजिक सदभाव हाम्रा लागि निर्णायक क्षमता भएको उहाँको भनाई थियो । कहिलेकाही सामाजिक सदभाव खल्बल्याउने तत्वहरु सक्रिय भईराख्ने सिलसिला देखिने गरेकोले यस्ता तत्वहरुलाई परास्त गर्न सकिएमा मात्रै सामाजिक सदभाव कायम रही राष्ट्रिय एकता कायम रहने बताउनुभयो । सबैजाति, भाषा, भेषभूषा, धर्म संस्कृति र पहिचानले नै हाम्रो भाग्य र भविष्यको फैसला गर्ने उल्लेख गर्नुभयो ।

यसैबीच कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पु¥याएका चारजना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अम्बिका–ममता स्मृति प्रतिष्ठानकी अध्यक्ष मलिका ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा जीवबच्छ मिश्र, मूना बदन राजभण्डारी, रामनारायण कुर्मी र उर्मिला लामालाई नगद, सम्मापत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

सम्मानित सबैलाई प्रमुख अतिथि इश्वर पोखरेलले सम्मान गर्नुभएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य सलोनी सिंह प्रधान, प्रतिनिधिसभा सदस्य प्रभु हजरा, वीरगन्ज महानगरपालिकाका प्रथम नगर प्रमुख विजय कुमार सरावगी, नेकप एमाले पर्साका संयोजक विश्वम्भर शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार केसी लामिछानेले गर्नुभएको थियो ।


सम्बन्धित समाचार