Logo

१ जेठ,काठमाडौं ।  यस वर्षको मनसुनजन्य विपदबाट देशभर करिब २ लाख २६ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सार्वजनिक गरेको आकलनअनुसार करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने देखिएको हो।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। विज्ञहरूका अनुसार अत्यधिक तापक्रमका कारण उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटनको जोखिम बढ्न सक्ने तथा त्यसबाट तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान र आकस्मिक बाढी जस्ता विपद् निम्तिन सक्ने सम्भावना रहेको छ।

यसैबीच, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बिहीबार बसेको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना’ स्वीकृत गरेको छ। योजनाले मनसुनजन्य जोखिम न्यूनीकरण, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालनसम्बन्धी मापदण्ड, २०८३ परिमार्जनसहित स्वीकृत गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस व्यवस्थाले विपद् हुनेबित्तिकै सरकारी संयन्त्र स्वतः परिचालित हुने कानुनी आधार तयार गरेको छ।

विपद्का समयमा गरिने अभ्यासलाई प्रभावकारी र एकरूप बनाउन ‘कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३’ पनि स्वीकृत गरिएको छ।

त्यसैगरी, निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ मा आवश्यक संशोधन गरिएको छ भने भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिन जिल्ला आयोजना कार्यान्वयन इकाईहरूमा २१ जना प्राविधिक जनशक्ति खटाउने निर्णय समेत गरिएको छ।


सम्बन्धित समाचार