Logo

१ जेठ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै आगामी असार १ गतेदेखि कक्षा ११ को नयाँ भर्ना अभियान सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विगतका वर्षहरूभन्दा चाँडो नतिजा प्रकाशन गरेपछि शैक्षिक सत्रलाई व्यवस्थित बनाउन भर्ना प्रक्रिया पनि छिटो सुरु गर्न लागिएको हो । शिक्षा मन्त्रालयले यसबारे आन्तरिक गृहकार्य पूरा गरिसकेको छ भने केही दिनभित्रै औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ ।

कतिपय विद्यालयहरूले नतिजा लगत्तै अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन सुरु गरिसकेका छन् भने काठमाडौँ महानगरपालिकाले पनि छात्रवृत्तिका लागि आवेदन खुला गरिसकेको छ ।

अघिल्लो शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन र परीक्षा अझै पूर्ण रूपमा नसकिएका कारण कतिपय विद्यार्थी र अभिभावकहरूमा दुईवटा ब्याचको व्यवस्थापनलाई लिएर केही अन्योल देखिए पनि सरोकारवालाहरूले भने यसपटक कुनै समस्या नहुने दाबी गरेका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का पूर्व महासचिव लोकबहादुर भण्डारीले कक्षा १२ को परीक्षा समयमै सम्पन्न भइसकेकाले भौतिक पूर्वाधार र शैक्षिक व्यवस्थापनमा कठिनाइ नहुने बताउनुभएको छ । उहाँले सरकारको यो कदमको स्वागत गर्दै यसपटक विद्यार्थीहरूले पठनपाठनका लागि लामो समय पर्खनु नपर्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी, निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीले असारको पहिलो सातादेखि नै कक्षाहरू सञ्चालन गर्ने तयारीमा विद्यालयहरू रहेको जानकारी दिनुभएको छ । शैक्षिक सत्रलाई ढिलाइ हुन नदिन र सिकाइ प्रक्रियालाई समयमै अगाडि बढाउन असार १ गतेदेखि भर्ना खोलेर लगत्तै पढाइ सुरु गर्ने योजना बनाइएको हो ।

शिक्षा मन्त्रालयका सहसचिव रूद्रप्रसाद अधिकारीले पनि मन्त्रालयले शैक्षिक क्यालेन्डरलाई चुस्त बनाउन यो योजना ल्याएको र यसले समग्र विद्यालय शिक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ ।


सम्बन्धित समाचार