Logo

काठमाडौँ — आज देशभर प्रतितिधिसभाका एक सय ६५ र प्रदेशसभाका तीन सय ३० निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुँदै छ भने ठीक ६ सातापछि आइतबारकै दिन मतदान हुनेछ । मंसिर ४ मा हुने संसदीय निर्वाचनमा स्पष्ट दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ ।

कांग्रेस नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाको गठबन्धनलाई पराजित गर्न एमाले नेतृत्वमा जसपा र राप्रपा अघि सरेका छन् ।

प्रतिनिधिसभामा भाग लिन ८७ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । दलीय र स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ । यसका लागि बढीमा २५ जना १० वटा झन्डासहित जान पाउने आचारसंहिता आयोगले जारी गरेको छ ।

मनोनयन दर्ताका लागि गत स्थानीय तह निर्वाचनमा दुई दिन समय राखिएकामा यसपालि एक दिन मात्रै समय दिइएको छ । ‘केही दलले उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम केही पर सारिदिन वा थप समय दिन आग्रह गरेको भए पनि विद्यमान कानुनी अवस्थाभित्र निर्वाचन कार्यक्रम हेरफेर गर्ने आधार नदेखिएकाले कार्यक्रम यथावत् राखिएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने ।

केही दिनयता अविरल वर्षा, बाढीपहिरोलगायत विपद्का कारण कतिपय स्थानमा आवतजावतमा कठिनाइ हुने भएकाले मनोनयन दर्तामा आवश्यक सहजीकरण गर्न राजनीतिक दलबाट आग्रह भएको आयोगले जनाएको छ ।

‘मनोनयनपत्र दर्ता प्रयोजनका लागि दलले उम्मेदवार मनोनयन गरेको औपचारिक पत्रलगायतका अत्यावश्यक कागजात आइतबार १० बजेभित्र आयोगको कार्यालय कान्तिपथ, काठमाडौंमा प्राप्त भएमा आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाई आवश्यक सहजीकरण गर्न सकिने व्यवस्था मिलाइएको’ आयोगले उल्लेख गरेको छ । उक्त समयपश्चात् प्राप्त हुन आउने कागजातमाथि कुनै कारबाही गर्न नसक्ने पनि आयोगले जनाएको छ ।

उम्मेदवार, प्रस्तावक र समर्थकले नामावलीको उतार निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालयबाट लिनुपर्ने हुन्छ । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गराएको उम्मेदवारको सूची साँझ ७ बजेसम्म सार्वजनिक गर्ने कार्यक्रम छ । उम्मेदवारको विरोधमा सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिन्छ । त्यस्तै, सोमबारै ३ बजेदेखि मंगलबार ५ बजेसम्म मनोनयनपत्र र उजुरीको जाँचबुझ गरी निर्णय लिने निर्वाचन कार्यक्रम रहेको छ । मंगलबार साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्नुपर्ने हुन्छ । बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । त्यही दिन ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ । असोज २७ देखि उम्मेदवारहरू निर्वाचन प्रचारमा जान सक्छन् ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयनपत्र दर्ता गराउन राजनीतिक दललाई आयोगले आग्रह गरेको छ । संविधान, कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, क्षेत्र, लिंग, समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी दिन थपलियाले आग्रह गरेका हुन् । आयोगले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची भने शनिबार राति सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सामानुपातिकतर्फ ६ हजार उम्मेदवार छन् । कान्तिपुर दैनिक


सम्बन्धित समाचार