Logo

२८ जेठ, टीकापुर । सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका बेला हमासले आक्रमण गरी बेपत्ता बनाएका विपिन जोशीको परिवारलाई इजरायली राजदूत हेनान गोडर र स्डोट नेगेभ कलेजका अध्यक्ष प्रा. हाइम शाकदले भेट गरेका छन् ।

आइतबार राति विपिनको घर कञ्चनपुरको महेन्द्रनगर पुगेर कलेजका अध्यक्ष र राजदूतले भेट गरेका हुन् ।

भेटका क्रममा विपिनको उद्धारका लागि इजरायल सरकार निरन्तर खोजी कार्यमा लागिरहे पनि उपलब्धि नभएको तर विपिनको अवस्था एक दिन पत्ता लाग्ने र छिट्टै घर फर्कनेमा इजरायल सरकार विश्वस्त रहेको राजदूत हनान गोडेरले बताएका छन् ।

इजरायलमा पुगेर बेपत्ता हुनुभएका विपिन जोशीलाई इजरायलले आफ्नै परिवारको सदस्य मानेको पनि राजदूत गोडरले बताए ।

विपिन काम गर्ने कलेज र फार्मले आफ्नो तर्फबाट सेवा सुविधा र क्षतिपूर्तिको केही दिन खोजे पनि परिवारले अस्वीकार गर्दै आएको छ आइतबारको भेट परिवारका सदस्यलाई सान्त्वना दिन र इजरायलका तर्फबाट दिन खोजेको सुविधा लिइदिन अनुरोध गरेको छ ।

इजरायली टोलीले विपिनको परिवारसँग गोप्य भेट गरेको हो विश्वविद्यालय स्रोतले जनाएको छ । भेटमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त, कृषि विज्ञान सङ्कायका डीन डा. विष्णुविलाश अधिकारीसँगै भए पनि दूतावासको टोलीले जोशीका परिवारलाई छुट्टै भेटेको छ ।

वि.सं. २०८० साल असोज २० गते देखि बेपत्ता जोशीको अवस्था अझै अज्ञात छ । नेपाल सरकारले पनि कूटनीतिक पहल गरेर विपिनको रिहाइ गर्ने आश्वासन दिए पनि उनको अवस्थासम्म सार्वजनिक हुन सकेको छैन ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका डीन डाक्टर विष्णुविलाश अधिकारीका अनुसार राजदूतावासको टोलीले आज सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी, इजरयलमा मारिएका कैलालीका विद्यार्थीहरू नारायण न्यौपाने र आशीष चौधरीका परिवारलाई भेटने कार्यक्रम छ भने आजै इजरायलमा मारिएका विद्यार्थीहरू पढेको कलेट टीकापुर बहुमुखी क्याम्पसमा पनि भेटने कार्यक्रम छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट कृषिका विद्यार्थीहरू इजरायल घटनामा मारिएपछि राजदूतावासको टोली पटक पटक विश्वविद्यालय र मृतक विद्यार्थी र बेपत्ता जोशीको परिवारलाई भेटघाटमा आउने गरेको छ ।

मारिएका दश जनाको आश्रित परिवारलाई इजरायल सरकारको कानुन अनुसार मासिक पेन्सन दिन सुरु गरेको छ तर कति दिन्छ भन्ने सार्वजनिक गरेको छैन ।

(गोरखापत्रबाट साभार गरिएको छ ।)


सम्बन्धित समाचार