Logo

२३ असोज, वीरगञ्ज । सत्तारुढ गठबन्धनले पर्सा क्षेत्र नम्बर १ को सन्दर्भमा गरेको निर्णयबाट असन्तुष्ट नेपाली कांग्रेस नेता अजय द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।गठबन्धनको तर्फबाट पर्सा–१ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण चुनाव लड्ने भएपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका हुन् ।

मनोनयन दर्ताको लागि दिउँसो ३ बजे वीरगञ्जकै रोयल पार्टी प्यालेसमा भेला हुन द्विवेदीले आफ्ना समर्थकहरुलाई आव्हान गरेका छन् ।पर्सा–४ का निवर्तमान सांसद कर्ण गठबन्धनबाट पर्सा–१ मा चुनाव लड्दैछन् । कर्ण, तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका थिए । २० हजार ७३८ मत ल्याएर उनी निर्वाचित हुँदा कांग्रेसका रमेश रिजालले १४ हजार ७०२ मत पाएर दोस्रो भएका थिए ।

त्यतिबेला दोस्रो भए पनि रिजालले टिकट लिन सफल भएका छन् ।शेखर कोइराला पक्षका पूर्वजिल्ला सभापति समेत रहेका द्विवेदीको टिकट खोसेर लोसपालाई समर्थन गरेपछि कांग्रेसका स्थानीय नेता कार्यकर्ता असन्तुष्ट थिए ।२०७४ सालमा वीरगञ्ज महानगरपालिकाको मेयरमा द्विवेदी तत्कालीन संघीय समाजवादी पार्टीका उम्मेदवार विजयकुमार सरावगीसँग पराजित भएका थिए ।

सरावगी १९ हजार ३९३ मत ल्याएर विजयी हुँदा उनले १७ हजार १९७ मत ल्याएका थिए । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पनि उनले मेयरमा उम्मेदवारी दिन चाहेका थिए, तर गठबन्धन हुँदा जनता समाजवादी पार्टीको भागमा मेयर पद परेपछि उनी पछि हटेका थिए ।


सम्बन्धित समाचार