Logo

१५ चैत, वीरगञ्ज । बाराको सिमरामा संचालनमा रहेको होटल इच्छाले पाँचतारे होटलको मान्यता पाएको छ । होटल इच्छालाई पर्यटन विभागले १३ चैतमा पाँचतारे होटलको मान्यता दिएको हो ।
इच्छा सहित नेपालमा पाँचतारे होटलको संख्या अब १८ वटा पुगेको छ । काठमाण्डौं उपत्यकामा १२ र उपत्यका बाहिर ६ वटा पाँचतारे होटल छन् ।

होटल इच्छा मधेश प्रदेशको पहिलो पाँचतारे होटल हो । पर्यटन विभागले २०८४ मंसिर २ गतेसम्म मान्य हुने गरी इजाजत पत्र दिएको छ ।
सिमरा विमानस्थलबाट दुई किलोमिटर दुरीमा रहेको होटल इच्छा का सञ्चालक इच्छाबहादुर वाग्ले हुनुहुन्छ ।

उनले ६ वर्षअघि १२० करोड लगानी गरेर मिनी क्यासिनो सहित चारतारे स्तरको होटल इच्छा सञ्चालनमा ल्याएका थिए । उक्त समयमा होटलमा ६० वटा कोठाहरु थिए । अहिले थप ३० करोड लगानी गरेर कोठाहरुको संख्या १०० पु¥याइएको उनले बताए ।

हाउजिङ र रियल स्टेट व्यवसायी वाग्लेले आन्तरिकसँगै भारतको विभिन्न शहरहरुका पर्यटकहरुलाई लक्षित गरेका छन् । यसबाट पर्यटन क्षेत्रको प्रवर्द्धनसँगै आर्थिक समृद्धिको अपेक्षा गरिएको वाग्लेले बताए ।

तीन दशक अगाडि नगरकोटबाट होटल उद्योग सुरु गरेका वाग्लेले इच्छा हस्पिटालिटीको व्यवस्थापनमा अमलेखगञ्जमा ‘गार्डेन सफारी रिसोर्ट’ सन्चालनमा ल्याउने योजना रहेको समेत बताएका छन् ।


सम्बन्धित समाचार