१९ माघ, काठमाडौं । नेपालका शीर्ष नेताहरूको नाम र प्रतिष्ठाको दुरुपयोग गरी अन्तर्राष्ट्रियस्तरमा ठगी धन्दा चलाएको आरोपमा एक अमेरिकी नागरिकलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको छ ।
ती व्यक्तिले आफ्नो कथित कलेजको वेबसाइटमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, सांसद विनोद चौधरी र महेश बस्नेतसहित १३ जना प्रभावशाली नेताहरूलाई ‘डाइनामिक टिम’ का सदस्यका रूपमा उल्लेख गरी परिचय दुरुपयोग गरेको पाइएको हो । नेताहरूको फोटो र नाम देखाएर अन्तर्राष्ट्रियस्तरबाट ठुलो मात्रामा आर्थिक कोष (फन्ड) संकलन गर्ने उद्देश्यले यो भ्रम फैलाइएको अध्यागमनको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अनुसन्धानका क्रममा ती अमेरिकी नागरिकले ललितपुरको सानेपामा ुनेपाल इन्टरनेसनल कलेजु नामक संस्था सञ्चालन गर्ने दाबी गर्दै कोरियन स्टडिज, एआई सफ्टवेयर इन्जिनियरिङ र बिजनेश स्टडिज जस्ता विषय अध्यापन हुने प्रचार गरेका थिए । उनले आफ्नो कलेज त्रिभुवन र पोखरा दुवै विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रहेको झुटो दाबी समेत गरेका थिए, जबकि कानुनी रूपमा एउटै कलेजले दुईवटा विश्वविद्यालयको सम्बन्धन लिन पाउने व्यवस्था छैन। सन् २०१४ देखि हालसम्म ५० पटकभन्दा बढी नेपाल आउजाउ गरेका उनले कहिले पर्यटक त कहिले व्यावसायिक भिसाको दुरुपयोग गर्दै शंकास्पद गतिविधि सञ्चालन गरिरहेको फेला परेको छ ।
पर्वतारोहण र व्यापारिक पृष्ठभूमिका ती व्यक्ति नेपालमा ‘कमसीड नेपाल प्रालि’ नामक कम्पनी दर्ता गरी चर्च प्लान्टिङ र धार्मिक गतिविधिसँग सम्बन्धित मिसनरी काममा समेत सक्रिय रहेको देखिएको छ । सन् २००८ मा न्यूयोर्कमा चर्च स्थापना गरेका उनले पछिल्लो समय नेपालमा एमओयू ग्यारेन्टेड क्रिश्चियन कलेज भन्दै प्रचारप्रसार गरी प्रतिष्ठित नेपालीहरूको नाम पुस्तकालय र प्रशासनिक टिममा समेत राखेर ठगीको जालो बुनेको प्रहरीको दाबी छ।
प्रतिष्ठित व्यक्तित्वहरूको सार्वजनिक साखलाई वैदेशिक आर्थिक लाभका लागि प्रयोग गरिएको यस घटनालाई सुरक्षा निकायले गम्भीर रूपमा लिँदै थप कानुनी कारबाही अगाडि बढाएको छ ।














