Logo

१७ बैशाख वीरगञ्ज । वीरगञ्जमा फेरी पनी रात्रि बजारले निरन्तरता पाउने भएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने गरि सबै तयारी गरिएको वीरगंज महानगरका मेयर राजेशमान सिंहले बताए ।

आर्थीक नगरी वीरगंजको अर्थतन्त्रमा टेवा पुग्ने उद्देश्यका साथ रात्री बजारलाइ निरन्तरता दिन लागिएको उनले बताए । “रात्रि बजार अबदेखि भने हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार लगाइने भएको हो ’उनले भने ,‘जस अनुरुप यहि बैशाखको २९ र ३० गते रात्रि बजार लागाइने तयारी गरिएको छ ।” वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको उपस्थितिमा आइतबार साँझ बसेको रात्रि बजार ब्यवस्थापन समितिको बैठकले रात्रि बजारलाई निरन्तरता दिने निर्णय गरेको हो । सोहि निर्णय अनुरुप यस पटक रात्रि बजार माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म बिस्तार गरेर लगाउने बैठकले जनाएको छ ।

बैठकमा नगर प्रमुख सिंहले वीरगञ्जको व्यापार ब्यवसाय अबेरसम्म सञ्चालन गर्ने वातावरण बनाउन रात्रि बजारलाई निरन्तर रुपमा अघि बढाउने प्रयास गरिएको बताए । महानगरले यहाँको बजार चलायमान बनाउन पहल गरिदिएको भन्दै महानगरप्रमुख सिंहले रात्रि बजारलाई निरन्तरता दिन अब उद्योगी व्यवसायी नै अग्रसर भएर आउनु पर्नेमा जोड दिए । उनले रात्रि बजार लाग्ने समयमा नेपाल भारत मुख्य सीमा चौबिसै घण्टा खुल्ने व्यवस्था मिलाइएकोले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने विश्वास पनि व्यक्त गरे ।

बैठकमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारीले रात्रि बजार सञ्चालन लागि आवश्यक सहयोग गर्न उद्योग वाणिज्य संघ तयार रहेको बताए । बैठकले अहिले सटरमा सञ्चालन गरिरहेको व्यवसायलाई अबेर रातिसम्म सञ्चालन गराउन आग्रह गर्ने निर्णय गर्नुका साथै रात्रि बजारका दिन आवश्यक स्टलहरुको व्यवस्था गर्ने निर्णय पनि गरेको छ । यस अघि नयाँ वर्षको अवसरमा महानगरपालीकाले गएको चैत ३० र बैशाख १, २ गते लगाइएको रात्रि बजारको भव्य आयोजना गरेको थियो ।

साँझ नपर्दै सुनसान हुने वीरगन्जमा रातिको समयमा पनि किनमेलको वातावरण बनाउन र वीरगन्जको व्यापार व्यावसायलाई चलायमान बनाउनका लागि तीनदिनको रात्री बजारको आयोजना गरेपछि नगरवासी हर्षित भएका थिए ।


सम्बन्धित समाचार