Logo

१८, माघ । राजनीतिक वृत्तमा प्रभावशाली पहिचान बनाएका पूर्वमन्त्री एवं संविधानसभा सदस्य जितेन्द्र देवले पुनः नेकपा (एमाले) परित्यागको घोषणा गरेका छन् ।

मबार एक औपचारिक विज्ञप्ति सार्वजनिक गर्दै उनले पार्टीको विद्यमान नीति, विचार र कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै एमालेसँगको आबद्धता अन्त्य गरेका हुन् । देवले एमाले नेतृत्वमा मौलाएको व्यक्तिवाद, नेताको देवत्वकरण गर्ने प्रवृत्ति र स्वेच्छाचारी ढंगको कार्यसम्पादनले पार्टीलाई विभेदकारी दिशामा धकेलेको आरोप लगाउँदै यस्तो अवस्थामा आफू सो दलमा रहिरहन नसक्ने स्पष्ट पारेका छन् ।

सप्तरीलाई आफ्नो मुख्य राजनीतिक थलो बनाएका देवको दलीय आबद्धताको इतिहास निकै उतारचढावपूर्ण रहँदै आएको छ। लामो समय एमालेकै राजनीतिमा सक्रिय रहेका उनी बीचमा सो पार्टी छाडेर विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए ।  सोही दलबाट उनी संविधानसभा सदस्य बनेका थिए भने पछि फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा विलय भएपछि उनी पनि कांग्रेसकै राजनीतिमा समाहित भएका थिए । कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्य समेत बनेका देवको संसदीय कार्यकाल २०८० फागुन २० मा समाप्त भएको थियो ।

राष्ट्रियसभाबाट बाहिरिएको केही समयपछि अर्थात् २०८१ असार १७ गते मात्रै उनी पुनः एमालेमै फर्किएका थिए । तर, पुरानो घर फर्किएको सात महिना पुग्दा नपुग्दै नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै उनले फेरि एमालेको साथ छाडेका हुन्  ।  पटक–पटकको दल परिवर्तन र पछिल्लो असन्तुष्टिले मधेशको राजनीति र एमालेभित्रको शक्ति सन्तुलनमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई अहिले चासोका साथ हेरिएको छ  ।


सम्बन्धित समाचार
भर्खरै