१९ माघ,रौतहट। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा रौतहट क्षेत्र नं. ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। उम्मेदवारहरू आफ्ना एजेन्डा लिएर मतदाताको घरदैलोमा पुग्न थालेपछि बस्ती–बस्तीमा चुनावी बहस चर्किएको छ।
यसपटक रौतहट–४ मा ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार तीमध्ये ३० जना पुरुष र ६ जना महिला उम्मेदवार रहेका छन्। मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना, नेकपा एमालेका रामजी साह र नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईबीच हुने देखिएको छ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेल र आम जनता पार्टीका ऋषि धमलाले पनि सशक्त रूपमा घरदैलो अभियान सञ्चालन गरिरहेका छन्। जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी तथा उज्यालो नेपाल पार्टीका उम्मेदवारहरूले पनि आ–आफ्नो उपस्थिति मजबुत बनाउँदै मतदाता रिझाउने प्रयास तीव्र पारेका छन्।
उम्मेदवारहरूले विकास र समृद्धिलाई मुख्य नारा बनाएका छन्। सडक सञ्जालको विस्तार, सुरक्षित खानेपानीको व्यवस्था र सुकुम्बासी समस्याको स्थायी समाधान गर्ने प्रतिबद्धता उनीहरूले मतदातासमक्ष व्यक्त गरेका छन्।
यसका साथै कृषिमा आधुनिकीकरण, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुधारका एजेन्डा अघि सार्दै संविधान संशोधनको आवश्यकता औँल्याएका छन्। भ्रष्टाचारमुक्त प्रशासन र पारदर्शी विकासप्रति साझा प्रतिबद्धता जनाउनु उम्मेदवारहरूको अर्को प्रमुख एजेन्डा बनेको छ।
यस निर्वाचनमा ३० जना नयाँ अनुहार चुनावी मैदानमा उत्रिएका छन् भने २० जना स्वतन्त्र उम्मेदवारको उपस्थितिले ठूला दलहरूलाई दबाब सिर्जना गरेको छ। मतदाताबीच पुराना अनुहार दोहोर्याउने कि नयाँलाई अवसर दिने भन्ने विषयमा व्यापक चर्चा भइरहेको छ।
निर्वाचन नजिकिँदै जाँदा दलीय झन्डा र चुनाव चिह्नले रौतहट क्षेत्र नं. ४ रंगिन थालेको छ। ३७ उम्मेदवारमध्ये कसलाई मतदाताले विजयी गराएर संसद् पठाउने हुन् भन्ने निर्णय भने फागुन २१ गतेको मतदानपछि मात्रै स्पष्ट हुने छ।
















