Logo

१६जेठ,सेढवा । पर्सामा सिचाँईका लागि संघिय सरकारले ल्याएका योजना अल्पत्र परेको छ । पर्सा राष्ट्रिय निकुञ्जमा रहेका घोडेमसान खोलाबाट सिचाँइका लागि पानी ल्याउने योजना ६ वर्षदेखि नै अल्पत्र परेको हो ।

जिराभवानी र ठोरी गाउँपालिका अन्तर्गतका खेतीयोग्य जमिनको सिचाँईका लागि सो सिचाई आयोजना करिब अठार करोडको लागतमा निर्माण गरिने योजना थियो । तर गएको ६ वर्षदेखि नै उक्त योजना अल्पत्र अवस्थामा रहेको हो ।

मानवबस्तीबाट सत्र किलोमिटर जंगलभित्र रहेको उक्त खोलाबाट पानी ल्याउन जंगलभित्र र बाहिरको कुलो निर्माण कार्यको पहिलो चरणको काम आर्थिक बर्ष ०७३/७४ सालमा सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष जरी लामाले जानकारी दिनुभयो ।

सो आर्थिक बर्षमा निकुञ्जभित्रको कुलो निर्माणका लागि ६५ लाख र बाहिरको कुलो निर्माणका लागि ८५ लाख रुपैयाको लगानी गरिएको उहाँले बताउनुभयो । कुलोको कतिपय स्थानमा पर्ने खोलामा पक्की साइफन समेत निर्माण गरिएको छ । जंगलभित्र भन्दा बाहिर रहेका ठोरी गाउँपालिका वडा नं ५ पर्ने गडुवालाईन, क्षेत्रीलाईन, छिरिङ्गलाईन, सुवर्णपुर, प्रधानटोल, बथेटोल, लगायतका क्षेत्रमा कुलो निर्माण गरिएका थियो । यसका साथै डिभिजन वन कार्यालय पर्सा अन्तर्गका वन र जिराभवानी गाउँपालिकामा पर्ने शान्तिनगर, हरैया क्षेत्रमा समेत कुलो निर्माण गरिएका थिए ।

उक्त समयमा निर्माण गरिएको करिब चालिस किलोमिटरभन्दा बढि कुलो पुरिएर अहिले समथर बनेको शान्तिनगरका रविमोहन सापकोटाले बताउनुभयो । सिचाँई योजनाको कार्य बन्द हुँदा यस क्षेत्रका किसान निराश भएका सापकोटाको गुनासो छ । किसानले खडेरी, सुख्खाको मार तथा ठूलो रकम खर्च गरी सिचाँई गर्ने झंझटबाट मुक्ति पाउने आश राखेको सापकोटाको भनाई थियो ।

तर कछुवाको चालमा भएको निर्माण कार्य हेर्दा किसान निराश हुने गरेका छन् । सो योजनाबाट करिब एक हजार पाँच सय हेक्टर जमिनका एक हजारभन्दा बढि किसान लाभान्वित हुने सम्भावना छ ।

सिचाँई डिभिजन कार्यालय पर्साका तत्कालिन प्रमुख राजकुमार खगले निर्माण कार्यको सुरुवात गराउनुभएको थियो । तर खगको सरुवा भएपछि कार्यलयले यस विषयमा बेवास्ता गरेको निर्माण समितिका सदस्य भिम बहादुर पाख्रिनले जानकारी दिनुभयो । आर्थिक बर्ष ०७४÷७५ देखि हालसम्म कुनै पनि कार्य नभएको समितिका सदस्यहरुले बताएका छन् ।


सम्बन्धित समाचार