Logo

११ माघ,काठमाडौं । युक्रेनसँगको सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको विमान दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्टहरूका अनुसार इलुसिन–७६ नामको यो सैन्य यातायात विमानमा करिब ७४ जना सवार थिए जसको मृत्यु भएको छ ।

बीबीसी संवाददाता स्टिभ रोजेनबर्गले विमानमा ६५ जना युक्रेनी युद्धबन्दी रहेको र उनीहरुलाई आदानप्रदानका लागि लगिएको बताए । उक्त विमानमा ६ जना चालक दलका सदस्य र तीन सहायक पनि थिए ।

सामाजिक सञ्जालमा शेयर भइरहेको भिडियोमा विमान तल खसिरहेको र त्यसपछि विस्फोट भएको देखिन्छ । बेल्गोरोडका गभर्नरले विमान दुर्घटनाबारे आफूलाई जानकारी रहेको बताए तर थप विवरण भने दिएनन्।

रुसी रक्षा मन्त्रालयले ‘इलुसिन–७६’ सैन्य यातायात विमानले ६५ युक्रेनी युद्धबन्दी बोकेर युक्रेनसँग आदानप्रदानका लागि लगिएको पुष्टि गरेको छ ।

रुसको सरकारी समाचार एजेन्सी आरआईए नोवोस्तीले जनवरी २४ मा आफ्नो टेलिग्राम च्यानलमा लेखेअनुसार रक्षा मन्त्रालयले विमानमा चालक दलका ६ सदस्य र तीन सहायक पनि रहेको जानकारी दिएको छ ।

बेल्गोरोभ प्रान्तीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले पनि आफ्नो टेलिग्राम च्यानलमा सोरोचान्स्की जिल्लामा घटना भएको बताए।

स्थानीय च्यानल ब्लेटगोरोभले एक भिडियो पोस्ट गरेको छ, जसमा अचानक एउटा विमान तल खसेर जमिनमा ठोक्किएको देखिन्छ। यसपछि आगो लाग्यो ।

रुसी संसदका सदस्य तथा सेवानिवृत्त जनरल आन्द्रेई कार्तपोलोभले दुर्घटनाग्रस्त विमानमा तीनवटा मिसाइल प्रहार भएको बताएका छन् । उनले यी क्षेप्यास्त्रहरू पश्चिमी देशहरूले युक्रेनलाई दिएजस्तै भएको दाबी गरेका छन्।

कार्तपोलोभले आफूले यो जानकारी कहाँबाट पाएको बताएनन्, न त उनले आफ्नो दाबीलाई समर्थन गर्ने कुनै प्रमाण प्रदान गरे। ती ‘प्याट्रियट’ मिसाइल हुन् वा ‘आइरिस–टी’ हुन् भन्ने कुरा अनुसन्धानपछि मात्र थाहा हुने उनले बताए ।

बीबीसीले यो रुसी विमान इलिसिन–७६ भएको पत्ता लगाएको छ। दुर्घटनाको भिडियो नयाँ हो र बेल्गोरोड प्रान्तको याब्लोनोभो गाउँमा खिचिएको हो।

जब बीबीसी भेरिफाइले दुर्घटनाको भिडियोलाई नजिकबाट हेर्यो, यसले निलो भवन र एउटा चर्च देखाएको थियो। गुगल नक्सामा सडक दृश्यको सहयोगमा यी ठाउँहरू मिलाउँदा यब्लोनोभो गाउँका मात्रै भेटिए।

 


सम्बन्धित समाचार