Logo

फाइल तस्विर

११ माघ,वीरगञ्ज । आम जनता पार्टी (आजपा) ले आज अह्वान गरेको मधेश बन्दको आंशिक प्रभाव परेको छ । आजपाका नेता कार्यकर्ताहरुले आज मधेसका आठ वटै जिल्ला लगायतका सदरमुकाम बन्द आह्वान गर्दै प्रदर्शन गरेका छन् । जनकपुरमा गरिएको प्रदर्शनमा प्रहरीले धरपकड गरेको आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभुख साहले बताउनुभयो ।

प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको दुव्र्यवहार गरेको उहाँले बताउनुभयो । यस्तै वीरगञ्जमा पनि पाँचजनालाई पक्राउ गरेको जनाएको छ । वीरगन्जको पावरहाउस चोकबाट दुईजना र इदगाह चोकबाट ३ जना गरी पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो ।

बैंकहरुले लिने गरेको मनपरि ब्याज फिर्ता गराउन, लघुवित सहकारीका सम्पूर्ण कर्जा माफ गराउन, आमजनतालाई सहज एवम सुलभ कर्जा दिलाउन, भन्सार कर्मचारीहरुले भन्सार छलिका समानमा पाउने ४५ प्रतिशत् कमिशनको विरोधमा र कर कार्यालयका कर्मचारीहरुले व्यापारीहरुको पसलबाट अराजक शैलीमा बहिखाता नियन्त्रणमा लिने विरुद्धमा बन्द घोषणा गरिएको आजपाले जनाएको छ ।

बन्दको पुर्व सन्ध्यामा आजपाले हिजो वीरगन्जमा राँके जुलुस प्रदर्शन गरेको थियो । आज विहानदेखि नै आजपा कार्यकर्ताहरुले ठाउँठाउँमा बजार बन्द गराउँदै हिडेका छन् ।

 


सम्बन्धित समाचार