Logo

२३ माघ, काठमाडौं । गएको अक्टोबर ७ तारिखयता इजरायलले प्यालेस्टिनको गाजासहित विभिन्न क्षेत्रमा गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या साढे २७ हजार जना नाघेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आक्रमणको एक सय २३ औँ दिनसम्म आइपुग्दा २७ हजार पाँच सय जनाको ज्यान गएको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । ज्यान गुमाउनेमा ११ हजार जनाभन्दा धेरै बालबालिका छन्, घाइतेको सङ्ख्या ६७ हजार जना नाघेको छ ।

इजरायलले गाजासहित प्यालेस्टिनका धेरै क्षेत्र ध्वस्त बनाएको छ । पछिल्लो समय सुत्केरी र बिरामी बसेका आश्रय स्थलमा पनि इजरायलले आक्रमण गरेको छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वको भ्रमणमा निस्कनुभएको छ । इजरायलले गाजामा गरिरहेको आक्रमण, सिरिया र लिबियामा अमेरिकी सैन्य अखडामाथि भइरहेका हमला, इरान र अमेरिकाबीचको बढ्दो तनावलगायतका घटनाको बीचमा ब्लिन्केन मध्यपूर्वको भ्रमणमा निस्कनुभएको हो ।

गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा गरेको आक्रमणपछि ब्लिन्केन पाँचौँ पटक मध्यपूर्वको भ्रमणमा निस्कनुभएको हो । हिजो साउदी अरबमा त्यहाँका युवराजसँग भेटवार्ता गरेका ब्लिन्केन आज इजिप्ट र कतार पुगेर बेलुका इजरायल जाने कार्यक्रम छ । एजेन्सी

 


सम्बन्धित समाचार