Logo

२७ माघ,काठमाण्डौ । पाकिस्तानमा अस्ति बिहीवार भएको आम चुनावको मतगणना चलिरहँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक–ए–इन्साफ (पीटीआई) समर्थित उम्मेदवारले अग्रता लिएका छन् । पीटीआईमाथि प्रतिबन्ध लागेपछि नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार अहिलेसम्म दुई सय ४३ सिटको परिणाम घोषणा हुँदा पीटीआई समर्थित उम्मेदवारहरुले ९८ सिटमा जित हासिल गरेका छन् । यस्तै पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) ले ६९ र बिलवाल भुट्टो तथा आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपल्स पार्टी (पीपीपीले) ले ५१ सिटमा जितेका छन् । अरु दलले १५ सिट जितेका निर्वाचन आयोगले जनाएको छ ।

पाकिस्तानको संसद्मा तीन सय ३६ सिट रहेकोमा अहिले दुई सय ६६ सिटमा चुनाव भएको हो । ७० सिट समानुपातिक प्रणालीमा विजयी हुन्छन् । राज्यका सूचना बेचेको, उपहार बेचेको, असंवैधानिक विवाह गरेको लगायतका मुद्दामा ३४ वर्ष जेल सजाय तोकिएका पूर्वप्रधानमन्त्री खान अहिले जेलमा हुनुहुन्छ ।

चुनावी मैदानमा आएका नयाँ अनुहार र खानले जेलभित्रबाटै सञ्चालन गरेको चुनावी अभियान प्रभावकारी देखिएका पाकिस्तानी राजनीतिक विश्लेषकहरुले बताएका बीबीसीले जनाएको छ ।

 


सम्बन्धित समाचार