Logo

२८ माघ,काठमाडौं । रौतहटमा बम विस्फोट गरी सामूहिक हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको छ।

रौतहट जिल्ला अदालतले आलमको मुद्दामा फैसला केन्द्रित सुनुवाइ सुरु गरेको हो। जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा पेसी तोकिएको छ। आज (आइतबार)बाट आलमको मुद्दाको अन्तिम बहस सुरु हुने भएको छ। आलमविरुद्धको मुद्दाको पेसी क्रमसंख्याअनुसार चौथो नम्बरमा रहेको छ।

२०६४ सालको संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो। उक्त घटनामा प्रहरीले २०७६ सालमा पुनस् अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो।

आलमले २०६४ सालको संविधान सभा निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्न बम विस्फोट गराउने योजना बनाएको र त्यसका लागि बम बनाउँदै गर्दा विस्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। बम विस्फोटको घटना सार्वजनिक हुने भयका कारण आलमले उक्त विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

उक्त मुद्दामा २९ कात्तिक २०७६ मा थुनछेक आदेश सुनाउँदै रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध आलमले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए। उच्च अदालत वीरगन्जले २०७६ माघ २४ गते जिल्लाको आदेश नै सदर गरेको थियो।
आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतले पनि सदर गरेपछि आलम सर्वोच्च पुगेका थिए। सर्वोच्चले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो। सर्वोच्चले अदालतले गत वैशाख २३ गते धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेपछि अन्तिम सुनुवाइको बाटो खुलेको थियो।

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी कसुरमा ४५ वर्ष कैद सजाय माग दाबी गर्दै अभियोगपत्र दायर भएको थियो। त्रिलोक प्रताप सिंह र ओसी अख्तरको कर्तब्य गरी ज्यान मारेको तथा बम विस्फोट गराएको अभियोग आलममाथि छ।
आलमलाई त्रिलोकप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विस्फोट गराइ घाइते बनाएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने मागदाबी गरिएको छ।

आलमसहित यो मुद्दामा ११ जनालाई प्रितिवादी बनाइएको छ। जसमा शेख सरोज भनिने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहमद महताब आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहम्मद मोबिन आलम, शेख जुमइन भन्ने शेख मलकार प्रतिवादी छन्।

 


सम्बन्धित समाचार