Logo

२९ माघ,सेढवा । आदिवासी थारु समुदायमा दिउँसोको विवाह गर्ने चलन बढ्दो छ । परम्परागत चलन अनुसार लगातार तीन दिनसम्म वैवाहिक कार्यक्रम हुदा निकै खर्च बढेकाले दिउँसो बिवाह गर्ने चलन बढेको हो ।

राती बिवाह गर्न जन्ती लैजादा बेहुला र बेहुली दुवै पक्षलाई पर्ने खर्चको भार कम गर्न र समाजमा बढ्दो विकृति हटाउन दिउँसो विवाह गर्ने प्रचलन बढेको थारु अगुवाहरु बताउँछन् । पर्सागढी नगरपालिका वडा नं.३ गोडपासाराका जयनारायण चौधरीले दिउँसो गरिने वैवाहिक कार्यक्रमका लागि रोडलाइट, पटाकाका साथै एकै दिन भोज खुवाउनु पर्ने भएकाले खर्चमा कटौती हुने गरेको बताए ।

रातीमा जन्ती जादा मादक पदार्थ सेवन गरी हो–हल्ला तथा झै–झगडा हुने संभावना बढि हुने भएकाले अहिले थारु समूदायका अधिकांश विवाह दिउसो नै हुने गरेको उनले जनाए । थारु कल्याणकारी समिति पर्साका अध्यक्ष रामेश्वर महतो थारु दिउँसो मा गरिने विवाहको अवधारणा धेरै अगाडी आएको भएपनि ढिलो गरी कार्यान्वयनमा आएको बताउँछन् ।

यस्तो प्रकारको विवाहको सकारात्मक पक्ष भएकाले करिब आधा वैवाहिक कार्यक्रम यही प्रक्रिया अनुसार भइरहेको अध्यक्ष थारुको भनाइ छ । अझ सामूहिक विवाहका लागि थारु कल्याणकारी समितिमार्फत पहल भइरहेको उनले बताए ।

सामूहिक बिबाह लागू गर्न सके एउटै खर्चबाट एउटै मण्डपमा ५/६ बेहुला बेहुलीको विवाह गर्न सकिने तथा आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोरा छोरीको बिवाह उचित तरिकाबाट सम्पन्न हुने उनको जिकिर छ ।


सम्बन्धित समाचार