Logo

१३ फागुन, काठमाडौं । सुनचाँदी रत्न तथा आभुषण संघ भित्रको आन्तरिक विवाद प्रहरी र प्रशासन कार्यालय सम्म पुगेपछि संघका केही पदाधिकारीहरु छानविनको दायराबाट उम्कन महासंघको व्यानर प्रयोग गर्न थालेका छन् ।

रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले संघ भित्र सुनको कोटा दुरुपयोग गरेको विषयलाई कानूनी कार्वाहीको दायरामा ल्याउन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा शुक्रबार उजुरी दर्ता गराएका छन् ।

संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले आफ्नै कार्यसमितिमा भएका जिम्मेवार पदाधिकारीको बारेमा नाम उल्लेखगर्दै सुनको कोटा दुरुपयोग गरि भरिया मार्फत भारत तर्फ सुन तस्करी गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी गरेका हुन । उनको उजुरी पछि संघमा रहेका जिम्मेवार पदाधिकारीहरु अनुसन्धानमा तानिन सक्ने अवस्था देखिएपछि महासंघको व्यानर प्रयोगगरी वक्तव्यबाजीमा उत्रिएका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यको सयुक्त हस्ताक्षर रहेको व्यानरमा विज्ञप्ती जारीगरी आफूहरु विरुद्ध प्रहरी कार्यालयमा उजुरीगर्ने रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ता माथि छानविन गर्न माग गरिको छ ।

दुवै महासंघको तर्फबाट निकालिएको विज्ञप्तीमा २०६७ सालदेखि सुन आयातमा सरकारले कोटा प्रणाली लागु गरेको र वितरणको जिम्मेवारी राज्यले महासंघलाई दिएको भन्दै महासंघका पदाधिकारी र सुन व्यवसायी माथि लान्छनायुक्त अभिव्यक्ति संप्रेषण भएकोमा महासंघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

दुवै महासंघ र सम्वद्ध संघहरुको काठमाडौंमा आज बसेको भेलाले गुप्ताले लगाएको आरोप र संचार माध्यममा आएका बिषय बस्तु भ्रामक रहेका भन्दै त्यसको सत्यतथ्य बाहिर ल्याउन र गुप्ता र संचार माध्यमको अन्तर सम्वन्ध पत्ता लगाउन सरकारका निकायमा गुहार गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ता विवादास्पद पृष्ठभूमिका व्यक्ति भएको र आफ्नो रहस्यपूर्ण गतिविधि छानवीनको दायरामा पर्ने भयले राज्यका नियमक निकायमा संघ र महासंघका पदाधिकारी विरुद्ध उजुरी गरेको आरोप लगाइएको छ ।

उजुरीकर्ता विरुद्ध महासंघ लाग्यो किन ?

आज सार्वजनिक गरिएको विज्ञप्तीमा संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले लगाएको आरोपको खण्डन गरिएको छैन । समाचार प्रकाशन गर्ने संचार माध्यम रेसखवर र गुप्ता माथि व्यक्तिगत लान्छना लगाउन खोजिएको छ ।

नेपाल रत्न तथा आभुषण संघ स्थापनाको पहिलो कार्यसमितिमा सदस्य रहेका गुप्ता १५ बर्ष देखि संघको विभिन्न जिम्मेवारीमारही हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन् । १५ बर्ष देखि संघको जिम्मेवारीमा रहेका व्यक्तिलाई अहिले आएर विवादास्पद पृष्ठभुमिको व्यक्ति भनि लान्छना लगाइएको छ ।

यदी उनी विवादास्पद पृष्ठभूमिका थिएभने किन झण्डै डेढ दशक सम्म संघको महत्पूर्ण जिम्मेवारीमा निर्वाचित भए ? अहिले उनले उठाएको मुद्धा गलत हो भने महासंघले त्यसको तथ्यांकगत रुपमा किन सत्यकुरा सार्वजनिक गर्न सक्दैन ? संघका केही पदाधिकारी विरुद्ध उजुरी दिएको आरोपमा उनलाई विवादास्पद भनिएको हो भन्ने कुरा महासंघले जारी गरेको विज्ञप्तीले प्रष्ट पार्दछ ।

संघ भित्र दुर्गम पहाडी र अन्य जिल्लामा जानुपर्ने कोटाको सुन सिमित पदाधिकारीले दुरुपयोग गरेको भन्दै संघका सदस्यहरु रहेको ह्वाट्सएप ग्रुपमा गुप्ता लगायत अन्य सदस्यहरुले समेत विरोध जनाएका थिए ।

सुनको कोटा वितरण पारदर्शी नभएको भन्र्दै विभिन्न जिल्लाका व्यवसायी र स्वयं संघ भित्र रहेका सदस्यहरुले असन्तुष्टी जनाउदै आएका छन् । वर्तमान सरकारले सुन तस्करी र यसमा संलग्न अपराधीहरुलाई कानूनको दायरामा ल्याइरहेको सन्दर्भमा आफूहरु विरुद्ध सरकारले छानवीन गर्न सक्ने भयले दुवै महासंघले हताशमा विज्ञप्ती जारी गर्दै संचार माध्यमको निष्ठामाथि समेत प्रश्न उठाउने चेष्टा गरेका छन् ।

रत्न तथा आभुषण संघको विवाद स्थानीय प्रशासन हुदै प्रहरीमा पुगेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले केही पदाधिकारीले सुनको कोटा दुरुपयोग गरेको भन्दै ठाडो उजुरी दर्ता गराएका छन । उनको उजुरीमा टेकेर प्रहरीले जिल्लाका साना व्यवसायीको बयान लियो भने पनि सिमित व्यक्तिको कब्जामा सुनको कारोवार कसरी भइरहेको छ भन्ने कुरा प्रष्ट खुल्न सक्छ ।

संघका जिम्मेवार पदाधिकारीको कम्पनीमा राज्यका निकायले पटक पटक छापामारेर अवैध सुनचाँदी वरामद गरेको र अवैध कारोवारमा संलग्न भएका पदाधिकारीलाई समेत संरक्षण गर्ने कार्यमा संघका केही पदाधिकारी लागेकोले पहेँलो सुन भित्रको कालोपोल खुल्ने डरले अहिले दुवै महासंघको व्यानर बोकेर केही व्यवसायी शक्ति केन्द्र धाउन थालेका छन् ।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको बर्तमान सरकारले भ्रष्टाचार र अपराधका फाइल खोलेर मन्त्री भएका व्यक्तिलाई जेल हालेको अवस्थामा शक्ति केन्द्रको आडमा अपराध लुकाउन सकिन्छ भन्ने चेष्टा महासंघका पदाधिकारीले नगरे हुन्छ ।

के यसको जवाफ दिनुपर्दैन ?

नेपाल सरकारले सुनमा कोटा लगाएपछि वितरणको अधिकार पाएको महासंघ र त्यसका पदाधिकारीहरुले १३ बर्ष देखि आफूले निर्वाह गरेको भूमिका गलत थिएन भने सार्वजनि गर्न तयार हुन्छन त ? अहिले साना तथा खुद्रा व्यवसायीहरुको तर्फबाट आएका आवाजहरुमा समेत यही कुरा विम्व हुन्छ ।

संघले कोटा वितरण गर्दा कुन मापदण्ड र कार्यविधि अप्नाएर गरेको छ भन्ने कुराको जानकारी ७७ जिल्लामा रहेर सुनको कारोवार र व्यवसाय गरेका व्यवसायीहरुले थाहा पाउनुपर्ने विषय हो की होइन ?

काठमाडौं लगायत देशका मुख्य शहरमा विक्रिको लागि राखिएका अत्याधुनिक गहना नेपालको कुन उद्योगमा बनाइएको हो र ती गहना उत्पादन गर्न कहाँबाट सुन खदिर गरिएको हो भन्ने कुराको सार्वजनिक गर्न महासंघ र संघका आवद्ध पदाधिकारी तयार छन त ?

कोटा प्रणालीबाट दैनिक १० देखि १५ किलो मात्र बैंकबाट खरिद भएको देखिन्छ तर बजारमा दैनिक करिव डेढ सय किलोको हाराहारीमा सुनको कारोवार हुनेगरेको तथ्य बाहिर आइरहेको छ । यस्तो अवस्थामा कोटा भन्दा दश गुणाबढी सुन बजारमा कसरी आयो र कहाँबाट कारोवार भइरहेको छ यसको सत्यतथ्य महासंघले सार्वजनिक गर्न सक्छ त ?

राज्यको नियमक निकायलाई संघका जिम्मेवार पदाधिकारीले सुन खरिद गरेको बैंक स्टेटमेन्ट, खरिद र विक्री खाता, स्टकमा भएको सुन तथा गहनाहरु कुन उद्योगमा निर्माण भएको हो त्यसको विवरण बुझाउन तयार छन त ? एउटा व्यवसायको भागमा कति ग्राम सुन पर्न जान्छ ? ती कहाँका व्यवसायीले सुन उठाएको छन ? त्यसको विवरण महासंघले सार्वजनिक गर्न सक्छ त ?

एउटै व्यक्तिले परिवार र भरियाका नाउँमा ५ देखि ७ वटा कम्पनी खोलेर सुनको कारोवार गरिरहेको बिषय समेत महासंघले सार्वजनिक गर्न सक्छ त ? चीनसँग नाका जोडिएका ठाउँ र त्रिभुवन भंसार कार्यालयबाट अवैध तरीकाले भित्रिएको सुनमा संघ, महासंघ र त्यसमा आवद्ध सम्पूर्ण व्यवसायी संलग्न छैनौ भनेर किन महासंघको व्यानरमा विज्ञप्ती आउन सक्दैन ?

महासंघका पदाधिकारी निष्ठापूर्ण रुपमा व्यवसाय संचालन गरेर बसेका छन भने राज्यका निकायमा किन आफ्नो कारोवार बुझाउन मान्दैनन् ? राजश्व अनुसन्धान विभाग र आन्तरिक राजश्व विभाग लगायत कार्यालयहरुले मागेको समयमा आफ्नो खातापात लिएर किन नियमक निकायमा जान सक्दैनन् व्यवसायी ? त्यसको जवाफ महासंघले दिनु पर्दैन ?

नेपाल सुनचाँदी व्यवसायी महासंघ केन्द्रीय उपाध्यक्ष शिवकुमार सरार्फ ६० किलो सुन तस्करीमा संलग्न रहेको प्रमाण सहित अहिले कारागारमा छन् उनका बिषयमा कुनै आधिकारीक धारणा महासंघले सार्वजनिक गर्न सकेको छ त ? अहिले पनि महासंघको वेवसाइडमा शिवकुमार सरार्फ उपाध्यक्षको रुपमा रहेको देखिन्छ ।

रातो धेरमा रहेका सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष शिवकुमार सरार्फ अहिले जेलमा छन् । तर महासघले आफ्नो पदाधिकारीको रुपमा वेवसाइडमा आजको मिति सम्म राखेको देखिन्छ ।


सम्बन्धित समाचार