Logo

१४ फागुन,काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाडीलाई मासिक एक लाख रूपैयाँसम्म तलब दिने भएको छ।

क्यानको शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सन् २०२४ का लागि राष्ट्रिय खेलाडीहरूको वर्गीकरण गरी पारिश्रमिक तोकेको हो।

पुरुषतर्फ ३० जनामध्ये ६ खेलाडी ग्रेड ‘ए’ मा परेका छन्। ‘ए’ ग्रेडमा रहेका राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख र कुशल भुर्तेलले मासिक एक लाख रुपैयाँ पारिश्रमिक पाउने भएका छन्।

ग्रेड ‘बी’ मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा छन्। उनीहरूले मासिक तलब ७० हजार रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ।

ग्रेड ‘सी’ मा बिनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी परेका छन्। उनीहरूले मासिक ५५ हजार तलब पाउनेछन्।

ग्रेड ‘डी’ मा रहेका पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेक कुमार यादव, आकाश चन्द, बिसर अहमद र सूर्य तामाङले मासिक ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

इमर्जिङ क्याटगोरीमा दीपेश कँडेल (कोशी), रुपेश सिंह (मधेश), रिजन ढकाल(वागमती), विपिन खत्री (गण्डकी), देव खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) छन्। उनीहरूंलाई पनि मासिक २५ हजार रुपैयाँ तलब दिने क्यानले निर्णय गरेको छ।

महिला खेलाडीको पनि ग्रेडिङ

क्यानले महिलातर्फ १९ खेलाडीलाई पनि ग्रेडिङ गरेको छ। ग्रेड ‘ए’ मा इन्दु बर्मा, रुबिना क्षेत्री र सीता रानामगर रहेका छन्। ग्रेड ‘बी’ मा कविता कुवँर, ग्रेड ‘सी’ मा पूजा महतो र अश्मिना कर्माचार्य परेका छन्।

अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल ग्रेड ‘डी’ मा छन्। महिलातर्फ इमर्जिङ क्याटगोरीमा सोनी पाख्रिन, खुशी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृष्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविन रहेका छन्।

ग्रेड ‘ए’ मा रहेका महिला खेलाडीले मासिक ५० हजार, ग्रेड ‘बी’ मा रहेकाले ३५ हजार, ग्रेड ‘सी’ मा रहेकाले ३० हजार, ग्रेड डी मा परेकाले २५ हजार र इमर्जिङ क्याटगोरीलाई २० हजार तलब दिइने क्यानका सचिव पारस खड्काले जानकारी दिए।

 


सम्बन्धित समाचार