Logo

१५ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।

लोफ्टी इटनले १०१ रन बनाए । त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन् ।मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए ।

लोफ्टी इटनले ३३ बलमै शतक पूरा गर्ने क्रममा ११ चौका र ८ छक्का हानेका छन् । मुलान क्रुगरले ५९ रन बनाए भने माइकल भान लिंगेनले २० रन बनाए ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक÷एक विकेट लिए ।

 


सम्बन्धित समाचार