Logo

१९ फागुन,सेढवा । पर्साको ग्रामीण भेगका किसानले एक बाली सुर्तीबाली भित्र्याउन व्यस्त छन् । भने अर्को बालीको रोपाई शुरु गरेका छन् । कार्तिक महिनामा लगाइएको सुर्ती बालीको पात टिपेर सुकाउने तथा सुकेको पातलाई चाङ्ग लगाइ व्यवस्थित गर्न व्यस्त छन् ।

जीराभवानी गाँउपालिका वडा नं.२ का किसान जगदिश चौधरीका अनुसार अहिले भित्र्याइएको सुर्तीका पातलाई जेठको पहिलो सातामा सूर्य नेपाल सिमरा बारामा चलान गरिन्छ । पातको रकम धान रोपाईको समयभन्दा अगाडी पाउने उनको भनाइ छ । किसानले रोपाईका समयमा पैसा पाउँदा बिउबिजन, रासायनिक मल, किटनाशक औषधि, खनजोत तथा सिँचाई कार्यमा सहयोग पुग्ने उनले बताए ।

यस्तै केहि किसान भने सुर्तीको दोस्रो बाली रोपाई गर्न व्यस्त देखिएका छन् । अहिले रोपाई गरिएको सुर्तीबाली जेठ महिनाको अन्तिम साता वा असारको पहिलो सातामा पात भित्र्याइन्छ । किसानले बार्ली र एछ डी जातका सुर्तीको रोपाई थालेको किसानले बताएका छन् ।

जिल्लाको ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, पर्सागढि र वीरगञ्ज महानगरपालिकाका केही वडाहरुमा यो बाली नगदेबालीका रुपमा लगाइन्छ । जिल्लामा अवैध गाँजा खेती गर्न प्रशासनले रोक लगाएपछि किसानका लागि सुर्तीबाली राम्रो नगदे बालीका रुपमा साबित हुदै गएको उनीहरु बताउँछन् । सुर्तीबाली राम्रो उत्पादन हुँदा प्रतिकट्ठा १५ देखि २० हजार रुपैया आम्दानी हुने ठोरी गाउँपालिका वडा नं.५ का किसान सुनबहादुर श्रेष्ठले बताए ।

उनका अनुसार यो रकम अन्य बालीको तुलनामा दोब्बर हो । सूर्य नेपालले उपलब्ध गराएका तथ्याङ्कका अनुसार पर्सा जिल्लामा यो बाली एक हजार हेक्टर जमिनमा लगाइएको छ । जसमा एच डी र बर्ली जातका सुर्ती छन् । नेपालमा तराईका नवलपरासी देखि सिरहा जिल्ला सम्म सुर्ती उत्पादन गरिदैँ आएपनि सबैभन्दा बढि पर्सा जिल्लाबाट सुर्तीको आपूर्ति पूरा हुने सूर्य नेपालले जनाएको छ ।


सम्बन्धित समाचार