Logo

१७ चैत,जनकपुर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन निर्देशन दिएका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पताल जनकपुरधाममा हिजो नव निर्मित बर्थिङ्ग सेन्टरको उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले भौतिक संरचनाको निर्माण र प्राविधिक व्यवस्थापनले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नरहेको उल्लेख गरे ।

दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरिय स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्दै चिकित्सकहरुलाई प्रतिबद्धताका साथ सेवामा जुट्न उनले निर्देशन दिए ।मधेश प्रदेश छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री यादवले जनकपुरधाम, राजविराज र वीरगंजमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भइरहेकोे समेत बताए ।

स्वास्थ्य लगायतको क्षेत्रमा अमेरिकी सहयोगको लागि अमेरिका सरकार र अमेरिकी जनतालाई धन्यवाद दिँदै उपप्रधानमन्त्री यादवले एमसिसी मार्फत विकास भइरहेको बताए ।यु एस इण्डो पैसिफिक कमाण्ड र यु एस एम्बेसीको सहयोगमा करिव ६ करोडको लागतमा निर्मित ७५ बेड्को बर्थिङ्ग सेन्टरको सिलान्यास समेत २०१८ नोभेम्बर १९ उपप्रधानमन्त्री यादवले नै गरे ।

प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहको अध्यक्षतामा भएको उक्त समारोहमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, उर्जा, खानेपानी तथा सिचाई मन्त्री सिंग्घासन सा कलवार, राज्यमन्त्री केशव राय चौधरी, संघिय स्वास्थ्य सचिव रोशन पोखरेल, अमेरिकी राजदुत डिन आर थमसन, प्रदेशका स्वास्थ्य सचिव डा. प्रमोद यादव, प्रादेशिक अस्पतालका निर्देशक रामनरेश पण्डितलगायतकाहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार