Logo

१७ चैत,सेढवा । नापतौलमा परम्परागत ढक तथा तराजु प्रयोगका कारण घाटा व्यहोर्नु परेको पर्साको ग्रामीण भेगका किसानको गुनासो छ । धान, गँहु, मकै तथा अन्य खाद्यान्न बिक्री गर्दा व्यापारीहरुले नेपाल सरकारले तोकेको अप्रमाणित ढक तराजु प्रयोग गरी नापतौल गर्दा मर्कामा परेको किसानको गुनासो छ ।

खाद्यन्न बिक्री गर्दा भारतीय ढकमा धातुका अन्य पदार्थ समावेश गरी तौल बढाउने तथा जोख्दा चोरी गर्न सिपालु रहेका ज्यामी लगाउँदा बढि उत्पादन चोरी हुने गरेको किसानले बताएका छन् ।
ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरका हिरा योन्जनले नेपाल सरकारको नापतौल विभागबाट प्रमाणित गरिएको ढक तराजुको प्रयोग गरी सामान जोख्नु पर्ने भएपनि व्यापारीहरुले अन्य ढक तथा काठको डण्डा प्रयोग गरी तराजुबाट

सामान जोख्दा पाँच किलोग्राममा कम्तीमा एक पाउ (२५० ग्राम) बढि लैजाने गरेको दुखेसो पोखे ।खाद्यन्न भएको पल्लालाई जोख्ने मान्छेले हातले उचाल्ने गर्दा एक पटकमा आधा किलोसम्म बढि लैजाने गरेका उनको भनाइ छ ।

यो हिसाबले पचास क्वीन्टल खाद्यन्न जोख्दा कम्तीमा तीन क्वीन्टल भन्दा बढि खाद्यन्न व्यापारीहरुले लैजाने गरेको उनको आरोप छ । यस्ता गतिविधि गर्ने व्यापारीहरुलाई गाउँलेले पक्राउ गरी जरिवाना समेत तिर्न लगाएको उनले जनाए ।
अहिले पनि समुदायमा माना, पाथी तथा सेर( भाडो) प्रयोग गरी समानको लेनदेन गरिन्छ । पशुपालन गरी दुध उत्पादन गर्ने किसानबाट व्यापारीहरुले लोटाबाट दुध नापेर खरिद गर्ने गरेको किसानको गुनासो छ ।

जिल्लाको ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी, पर्सागढी, धोबिनी, छिपहरमाई, पकहामैनपुर, कालिकामाई लगायतका अन्य पालिकाहरुमा पनि नापतौलका गर्ने तरिका यस्तै छ । किराना सामान, तरकारी तथा अन्य पसलहरुमा समेत भारतीय बजारमा पाइने ढक, इट्टा, ढुङ्गा, फलामका टुक्रा लगायतका वस्तुलाई ढकको रुपमा प्रयोग गरी सामान जोख्ने चलन छ ।

अधिकांश किराना पसलहरुमा धान, गँहु, मकै तथा अन्य सामान बिक्री गर्न जाँदा पसलेले अप्रमाणित ढक तराजु प्रयोग गर्ने र सामान खरिद गर्दा अर्को ढक तराजुको प्रयोग गर्ने गरेको स्थानीयबासीको भनाइ छ ।
कतिपय व्यापारीहरुले उपभोक्ता नजर स्वच्छ देखाउन डिजिटल तराजु प्रयोग गरिरहेका छन् । तर सो डिजिटल तराजुमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जको टाचा भएको शिल नभएको र नेपाली बजारबाट समेत खरिद नगरी, भारतीय बजारबाट खरिद गरी ल्याइन्छ ।

डिजिटल तराजुमा तौल चोर्न व्यापारीहरुलाई सजिलो हुने जानकारहरु बताउछन् । सो तराजुमा एक केजी सामान दिनुपरे ८ सय ग्राम र एक केजी लिनुपर्ने १ केजी २०० ग्राम सजिलै बनाउन मिल्ने जनाईएको छ ।
पटेर्वासुगौली गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक ममता महतोले उपभोक्ता तथा किसानले यसबारे कुनै पनि उजुरी नगरेको जनाइन् । समितिले अनुगमन गर्ने र यस्ता गतिविधि गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने उनको प्रतिवद्धता छ । उनले यस्ता गतिविधिको प्रकृतिका आधारमा पालिका स्तरीय ऐन समेत निर्माण गर्ने बताइन् ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्सा अध्यक्ष सुनिल श्रेष्ठका अनुसार उपभोक्ता, किसान तथा आमनागरिकको हकहित संरक्षणका लागि यो संस्था गठन भएको हो । यस्ता गतिविधि गर्ने तथा यस कार्यमा सहभागी हुने व्यापारीहरुलाई कारवाहीका लागि सम्बन्धित कार्यालय गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा उजुरी दिने उनको जिकिर छ ।


सम्बन्धित समाचार