Logo

१७ चैत,काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा पनि नेपाल आयरल्यान्डसँग पराजित भएको छ।

२२५ रनको विशाल लक्ष्य पाएको नेपालले १७ दशमलव ५ ओभरमा अलआउट हुँदै १८४ रन मात्र बनाउन सक्यो। पहिलो खेलमा २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ४० रनले पराजित भयो।

नेपालका लागि ओपनर लोकेश बम २५, विनोद भण्डारी २६, देव खनाल ४७ रन बनाए। यस्तै बसिर अहमदले २७, आरिफ शेख १४, कमलसिंह ऐरीले ११ र पवन सर्राफले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
आक्रामक सुरुवात गरे पनि नेपालले मध्यक्रममा लगातार विकेट गुमाउँदा दबाबमा परेको थियो।

आयरल्यान्डका तर्फबाट बलिङमा बेन ह्वाइटले ३ विकेट लिँदा फिन हान्ड र थोम मायसले दुई÷दुई विकेट लिए। यस्तै ग्रेथ डेनली र म्याथ्यू फोस्टरले एक÷एक विकेट लिए। पहिले ब्याटिङ गरेको आयरल्यान्डले ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो।

यसअघि शुक्रबारको खेलमा नेपाल २१ रनले पराजित भयो। २२३ रनको लक्ष्य पछ्याउने क्रममा लोकेश बमले शतक प्रहार गरे पनि मध्यक्रमका ब्याटर चल्न नसक्दा १९ दशमलव ३ ओभरमा २०१ रन बनाउँदै अलआउट भएको थियो।


सम्बन्धित समाचार