Logo

२० चैत,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले लिएको आधारभुत तह (कक्षा ८ )को परिक्षामा ५५ प्रतिशत भन्दा बढी बिद्यार्थी अनुत्तिर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ १ हजार ६७ जना र संस्थागत बिद्यालयतर्फ १ सय ८४ जना अनुत्तिर्ण भएका हुन् ।

चैत्र २ गते देखि ९ गते सम्म सञ्चालन भएको परिक्षामा २ हजार २ सय ६८ विद्यार्थीले सहभागिता जनाएका थिए । जसमध्ये १ हजार २ सय ५१ जना विद्यार्थी अनुत्तिर्ण भएका उपमहानगरपालिकाले जनाएको छ । अनुत्तिर्ण विद्यार्थीहरुले नयाँ शैक्षिक शत्रमा कक्षा ९ मा पढ्न नपाउने जनाइएको छ । उपमहानगरपालिकाले सार्वजनिक गरेको नतिजामा ४४.८४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको देखाएको छ ।

त्यस्तै संस्थागततर्फ राष्ट्रिय विभुती सामुदायिक शिक्षा सदनकी छात्रा अस्मिता गुरुङ्ग, ब्राईटर एकेडेमी सिमराकी छात्रा मुबिका सिँह र ईसान्त रेग्मीले ४ जिपिए ल्याई उत्कृष्ट भएका छन् । यता सामुदायिक विद्यालयतर्फ श्री नेरा मावी सिमराकी छात्रा सुरती कुमारीले ३.९६ जिपिए, श्री जनजागृती माध्यमिक विद्यालयका छात्र अनुश अधिकारीले ३.८३ जिपिए र राष्ट्रिय माध्यमिक विद्यालयका छात्र कृष्णा रानाभाटले ३.८३ जिपिए ल्याएर उत्कृष्ट विद्यार्थी बन्न सफल भएका छन् ।

कक्षा ८ को परिक्षामा सामुदायिकतर्फ १ हजार ३ सय ७५ जना विद्यार्थी र संस्थागततर्फ ८ सय ९३ विद्यार्थी सामेल भएका थिए भने २५ जना विद्यार्थी विभिन्न कारण अनुपस्थित भएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।


सम्बन्धित समाचार