Logo

२० चैत,वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद एवम् प्रतिनिधी सभा सदस्य विना जयसवालले सिर्सिया नदीलाई प्रदुषित बनाइरहेका उद्योगहरुलाई कारबाही गर्न संघीय सरकारसंग माग गरेकी छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद जयसवालले वीरगन्ज महानगरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदीलाई प्रदुषित बनाइरहेका उद्योगहरुलाई कारबाही गर्न सरकारसंग माग गरेकी हुन् ।

तीन दशकदेखि प्रदूषण र अतिक्रमणको चपेटामा परेको सिर्सिया नदीलाई औद्योगिक कोरिडोरका उद्योगहरुले प्रदूषित बनाइरहेकाले ती उद्योगहरुलाई कारबाहीको दायरामा ल्याउन पर्साकी सांसद जयसवालले माग गरिन् ।

वीरगन्जबासीको सामाजिक, आर्थिक, सांस्कृतिक जीवनसंग जोडिएको सिर्सिया नदी प्रदूषितमात्र नभई भूमाफियाहरुको चपेटमापनि परेको भन्दै उनले नदीलाई प्रदूषण र अतिक्रमणको चपेटाबाट मुक्त गराउन सामाजिक अभियान्ताहरुले पटकपटक सडक आन्दोलन गरिसकेको, सांसदहरुले सदनमा आवाज उठाएको भएको ती उद्योगहरुलाई हालसम्म कारबाही किन भएन ? भन्दै प्रश्न गरिन् ।

यसविषयमा सरकारले कानमा तेल हालेर बसेको प्रष्टै हुने उनको भनाइ थियो । वातावरण संरक्षण ऐन २०७६ मिचेर उद्योगहरुले उद्योगको रसायनयुक्त पानी, फोहोर पदार्थ, जीवजन्तुको छाला, हड्डी लगायतका वस्तु सिधै नदीमा फाल्दै आएकाले नदी प्रदूषित भएको उनले जिकिर छ ।

नदीको प्रदूषण रोक्न वीरगन्ज महानगरपालिकाले दोषी उद्योगीहरुलाई विभिन्न प्रकारको कारवाही गरी आर्थिक जरिवाना गराउदाँ समेत उद्योगीहरुले नटेरेको सांसद जयसवालले स्मरण गराइन् ।
त्यसका कारण नदी प्रदूषित गर्ने दोषी उद्योग र त्यसका सञ्चालकहरुलाई छिटो भन्दा छिटो कारबाहीको दायरामा ल्याएर नदीलाई प्रदूषणमुक्त बनाउन तर्फ सरकारको ध्यान पुग्न जरुरी रहेको उनले जनाइन् ।


सम्बन्धित समाचार