Logo

२० चैत,बारा । सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा बिबिध कार्यक्रम गरी ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाईएको छ । मंगलबार पालिकाको जीतपुर स्थीत कार्यालयबाट प्रभातफेरी सहित निस्कीएको सहकारीकर्मीहरुको रयाली शान्ति टोल खेल मैदानमा आएर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

यसबर्ष राष्ट्रिय सहकारीको नारामै एकीकरणको कुरा समेटिएकोमा नगर प्रमुख पौडेलले खुशी ब्यक्त गर्नुभयो ।उहाँले सहकारीहरुको संख्यामा भन्दापनी सेवाका हिसाबले गुणात्मक विकास जरुरी भएको बताउँनुभयो । सहकारीहरु शेयर सदस्यको समस्याप्रती केन्द्रित भएर सदस्यमुखी सहकारी बनाउँनुपर्ने धारणा ब्यक्त गर्नुभयो । गाउँगाउँमा सहकारी घरघरमा रोजगारी भनिएपनि गाउँ गाउँमा सहकारी स्थापना भएपनि यसको लगानीले रोजगारी सिर्जना गर्न नसक्दा रोजगारीकै लागि खाडिमुलुक जाने युवायुवतीको सङ्ख्या रोक्न नसकेको प्रती चिन्ता ब्यक्त गर्नुभयो ।

उपमहानगरपालिकाले सहकारी दिवसको अवसरमा सहकारीको विषयमा विद्याबारीधि गरेका प्रथम नगर प्रमुख स्वार्गिय डा. कृष्ण पौडेललाई मरणोप्रान्त सम्मान गरेको छ । सम्मान स्वार्गिय पौडेल पत्नी शर्मिला पौडेलालाई प्रदान गरिएको हो ।यसैगरी पालिका स्तरका विभिन्न उत्कृष्ठ ११ वटा सहकारी संस्था तथा सहकारी अभियानमा सक्रिय रहि हाल कानुनी प्रावधानका कारण सहकारीको मुख्य जिम्मेवारी छाडेका शिक्षक तथा जनप्रतिनीधि २५ जनालाई समेत सम्मान गरिएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य जनकल्याण बहुउदेश्यीय सहकारी संस्थाका गणेशजी प्रसाद साहले ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन उपमहानगरपालिकाको पर्यटन तथा सहकारी शाखा प्रमुख अधिकृत सुधन चौधरीले गरेका थिए ।

२०१३ साल चैत्र २० गते नेपालमा पहिलो पट्क चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।देशभर अहिले करिब ३० हजारको संख्यामा सहकारी रहेको तथ्यांक छ । सहकारीमा झण्डै ६० लाख सदस्य छन् ।सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाखलाई अप्रत्यक्ष रोजगारी, कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान गरेको बताइन्छ । तर संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न सकेको छैन ।


सम्बन्धित समाचार