Logo

२१ चैत,काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्। बुधबार प्रदेश सभामा आफूलाई प्रदेश सभाको विश्वासको मत छ भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।

‘विश्वासको मत लिने कुरा थियो। तर परिस्थिति बदलिएको छ। बदलिएको परिवेश अनुसार म प्रदेश सभाबाट विश्वासको मत लिन गइराखेको छैन’, उनले भने, ‘पछिल्लो राजनीतिक परिस्थितिमा मैले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा रहिरहन उपयुक्त नदेखी आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको कुरा सभा समक्ष जानकारी गराउन चाहन्छु।’

सम्बोधनका क्रममा मुख्यमन्त्री शर्माले आफ्नो सरकारले गरेका विभिन्न उपलब्धिको चर्चा गरेका थिए। उनले भने, ‘मेरो नेतृत्वको सरकारको अवधिमा ७४ वटा झोलुंगे पुल र २८ वटा सडक पुल निर्माण भएका छन्। यस अवधिमा ९० किलोमिटर पक्की सडक, ४७५ ग्राभेल सडक निर्माण, २५८४ किलोमिटर नयाँ ट्र्याक, २९७ किलोमिटर सडक स्तरोन्नति, ३०७४ वटा जनता आवास तथा विपन्नको घर र सामुदायिक भवन निर्माण सम्पन्न भएका छन्।’

माओवादी केन्द्रका शर्मा २०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिबेला एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उनी मुख्यमन्त्री बनेका थिए। तर पछि संघीय सरकारको गठबन्धन परिवर्तन भए कांग्रेस, माओवादी केन्द्र लगायतको गठबन्धन बनेपछि उनले कांग्रेससँग सहयात्रा गर्दै आफ्नो पदलाई निरन्तरता दिएका थिए।

गत फागुनमा पुनः एमाले र माओवादी केन्द्र लगायतको गठबन्धन ब्युँतिएको थियो। नयाँ गठबन्धन बनेपछि भएको सातै प्रदेशको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेले पाउने सहमति भएको थियो। सो सहमतिपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई राजीनामा दिएर एमालेलाई सघाउन निर्देशन दिएका थिए। तर उनले विश्वासको मत लिएर मात्रै राजीनामा दिने तयारी गरेका थिए। तर एमाले सहमत नभएपछि उनले विश्वासको मत माग्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा राजीनामा घोषणा गरेका हुन्।

 


सम्बन्धित समाचार