Logo

२२ चैत, काठमाडौं । सुनचाँदीको अवैध कारोवार र बेथितिका विरुद्ध आवाज उठाउदै आएका नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्तालाई संघको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।

संघको आज काठमाडौंमा बसेको कार्यसमितिको बैठकले गुप्तालाई साधारण सदस्य समेत नरहनेगरी संघबाट निष्कासन गरिएको स‌ंघका एकजना पदाधिकारले बताए । संघको बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको व्यक्तिलाई बैठकमा उपस्थित नगराई निष्कासन गरिएको प्रति गुप्ताले कानूनी उपचार खोज्ने बताएका छन् ।

यता संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले आफूलाई कार्वाही गरेको लिखित जानकारी नपाएको बताए । मलाई आजको बैठकमा बोलाइएको पनि छैन, संघको बरिष्ठ उपाध्यक्षबाट निष्कासन गरेको भन्ने जानकारी समेत नभएको बताए । संघमा रहेका सुन माफिया र तस्करहरुले आफू निर्वाचित भएकोले कार्वाही गर्न नसक्ने बताए ।

सुनको कोटा प्रणालीमा संघका पदाधिकारीले दुरुपयोग गरेको भन्दै विगत लामो समयदेखि साना व्यवसायीको पक्षमा वकाल गर्दै आएका गुप्तालाई संघका विरुद्ध सामाजिक सञ्जाल र सञ्चार माध्यममा समाचार दिएको आरोप लगाउदै निष्कासन गरिएको हो । संघ भित्रको गोप्य बिषयहरु सामाजिक सञ्जालमा दिनहुँ सार्वजनिक गरेको आरोप गुप्तालाई लगाइएको छ ।

काठमाडौं बाहिरका व्यवसायीको सुन कब्जा गरी कोटा दुरुपयोग गर्दै आएका संघका उपाध्यक्ष निर्मलज्योति तुलाधरको योजनामा आफूलाई संघबाट निकालिएको गुप्ताले बताए । राज्यले अनुसन्धानमा कार्वाही गर्नुपर्ने व्यक्तिका पक्षमा सिंगो संघलाई प्रयोग गरिएको भन्दै गुप्ताले उनीहरुको निर्णय विरुद्ध कानूनी प्रकृयामा जाने बताए ।

सुनमा लगाइएको कोटा प्रणाली खारेजगरी देशभरका साना व्यवसायीहरुले समेत सहजरुपमा सुन लिन सक्ने वातावरण वनाउनका लागि आफूले आवाज उठाएको गुप्ताको भनाई छ । मेरो परिवारलाई सुनको कारोवार गर्न नपाउने गरि नेग्जामा निर्णय गरिएको छ, गुप्ताले भने, “चक्रिय कोटा प्रणालीको नाउँमा एक दुई जना व्यापारीले मात्र सुन कब्जा गर्दै आएकोले त्यसमा राज्यका निकायले अनुसन्धान गर्नुपर्छ भनेर मैले आवाज उठाएको हुँ ।”

नेपाल रत्न तथा आभुषण संघका बहुमत सदस्यहरुको उपस्थितिमा उक्त निर्णय भएको एक सदस्यले बताए । सुन व्यवसायलाई नै धरापमा पार्नेगरी गुप्ताले सामाजिक सञ्जाल लगायत राज्यका निकायमा समेत व्यवसायीका विरुद्ध उजुरी दिदै हिडेकोले उनी माथि संघको साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरिएको हो, ती सदस्यले भने । संघले गरेको निर्णय भने आज सार्वजनिक गरिएको छैन ।

यता संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले संघको निर्णयले सुनको कोटा दुरुपयोग गरी भारत तस्करी गर्नेहरु उत्साहित भएको बताए । तस्करहरुको उक्साहटमा मलाई हटाउने निर्णय भएको छ । संघका उपाध्यक्ष निर्मलज्योति तुलाधरको मतियारको रुपमा संघका अध्यक्ष सुमनमान ताम्राकारले काम गर्दै आएका छन् । उनीहरुले संघमा आवद्ध सदस्यहरुको हित भन्दा पनि कोटाको सुन हत्याउदै आइरहेकाले उनीहरुको योजनालाई सफल बनाउन कार्वाहीको नाटक गरिएको गुप्ताको भनाई छ ।

संघको अधिवेशनबाट निर्वाचित भएको व्यक्तिलाई सुनको कोटा दुरुपयोगी र तस्कर माफियाले कार्वाही गर्न नसक्ने गुप्ताले बताए । मलाई जसले कार्वाही गरियो भनेको छ, उसलाई राज्यका निकायले कार्वाही गर्ने दिन आउँछ, गुप्ताको भने । अहिले तस्कर र सुन माफियाहरु आफ्नो विरुद्ध लागेको उनको भनाई छ ।

सुन तस्कर र माफियाका विरुद्ध गृहमन्त्रालयले छानवीन गरी अपराधीहरुलाई कार्वाही हुने कुरामा आफू विश्वस्त रहेको गुप्ताले बताए । सुन तस्करहरुको नालेबेली लिएर गृहमन्त्रालय जान्छु, गुप्ताले भने, “अहिलेको सरकारले सुन तस्करका विरुद्ध निर्ममढंगले कार्वाही गर्ने छ ।”

नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमनमान ताम्राकारको मोवाईल नम्वरमा सम्र्पकगरी प्रतिक्रिया लिन खोज्दा उहाँले मोवाइल उठाउनु भएन ।


सम्बन्धित समाचार