Logo

३ बैशाख, वीरगञ्ज । जिल्ला अदालत पर्साबाट हिरासतमा राखेर अनुसन्धान म्याद थपेको ५ घण्टामै एक हाइप्रोफाइल आरोपित छाडिएको घटना अझै रहस्यमय देखिएको छ । प्रहरीले के उदेश्यले पक्राउ गरेको थियो र किन छाडियो भन्ने कुरा अझै प्रष्टसँग जवाफ दिन सकेको छैन ।

बीरगन्जस्थित नेशनल मेडिकल कलेजका एमडी शाहनवाज अन्सारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रोपटक थपिएको ५ दिनको म्यादको मसी नसुक्दै हाइप्रोफाइल सेटिङमा रिहा गरिएको घटनाको उजागर भएको छ ।

नेशनल मेडिकल कलेजका एमडी शाहनवाज अन्सारीलाई पर्सा प्रहरीले कालोबजारी तथा केही अन्य सामाजिक अपराधविरुद्धको मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

८ दिन अगाडि ल्याबमा म्याद नाघेको केमिलसहित पक्राउ परेका कलेजका एमडी शाहनवाज अन्सारीमाथि अदालतले थप अनुसन्धान गर्नका लागि पहिलोपटक २ दिनको म्याद दिएको थियो ।

अनुसन्धान नसकिएको भन्दै पर्सा प्रहरीले पुनः दोस्रोपटक मागेको म्यादमा जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको थियो । अदालतको डायरीमा फाँटमा कार्यरत पप्पु यादवले दोस्रोपटक ५ दिनको म्याद थपिएको पुष्टि गरे ।

स्रोतका अनुसार गएको बुधबार जिल्ला अदालत पर्साका ४ नम्बर इजलासका न्यायाधीश नन्दकिशोर प्रसाद यादवले ५ दिनको म्याद दिएका थिए ।
न्यायाधीश यादवले ५ दिनकोे म्याद थमाएकै दिन राती साढे ११ बजे हाइप्रोफाइल सेटिङमा आरोपित एमडी अन्सारीलाई रिहा गरिएको छ ।

स्रोतका अनुसार हाइप्रोफाइल सेटिङ भइसकेपछि पर्सा प्रदेश नम्बर १ का सांसद प्रदीप यादवले पछि जमानी बसेर छुटाए । यसरी अदालतले अनुसन्धान गर्न म्याद थमौती गरिसकेपछि त्यो आरोपित रिहा गर्नु गम्भीर अपराध रहेको म्यासेज दिइरहेको पूर्व न्यायाधीशहरु बताउँछन् ।

नाम नराख्ने शर्तमा उच्च अदालतका एक पूर्व न्यायाधीशले भने,‘म्याद थमौती भएको आरोपितलाई रिहा गर्न मिल्दैन, यदि कसैले गरेको छ भने त्यो गम्भीर अपराध हो । यो भनेको ठूलो सेटिङमा हुने काम हो ।’

तर सांसद यादवले भने आफू रोहबरमा मात्रै बसेको प्रतिक्रिया दिए । कानुनले बोलाएको बेला उपस्थिति हुने गरी हाजिरी जमानीमा एमडी अन्सारी रिहा भएको उनको भनाइ छ । प्रतिष्ठित मेडिकल कलेजको प्रवन्धक निर्देशकलाई प्रहरीले नियन्त्रणमा राख्नु ठिक नभएकोले मेरै रोहबरमा छुटाएको हुँ, यादवले भने ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले सरकारी वकिलले छोडन आदेश दिएकोले प्रहरीले हिरासत मुक्त गरेको बताए । उनले आरोपित व्यक्तिहरुलाई हिरासत बाहिर राखेर अनुसन्धान भइरहेको जानकारी दिए ।

नेशनल मेडिकल कलेजको प्रयोगशालामा राखिएको औषधी र केमिकल म्याद गुज्रेको भन्दै वीरगञ्ज महानगरपालिकाका उपमेयरको नेतृत्वमा गएको टोलीले कलेजमा छापा मारेको थियो । वीरगञ्ज महानगरपालिकाको कार्यक्षेत्र बाहिर गएर छापा मारिएपछि उक्त मुद्धालाई प्रहरीले अनुसन्धान गर्न जिम्मा लिएको थियो ।


सम्बन्धित समाचार