Logo

११ वैशाख, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ परसवाटाडीका ६५ दलित परिवारले अहिले सम्म जग्गाधनी प्रमाणपूर्जा पाउन सकेका छैनन् ।

वंशजको आधारमा नागरिकता प्रमाणपत्र, जग्गा, र जग्गामा घर भएपनि विगत १८ वर्षदेखि परसवाटाडीका दलितहरु लालपूर्जा विहिन भएर बसेका छन् ।

२०६२ सालतिर ऐलानी जग्गामा बसोबास गर्दै आएका ६५ घरपरिवारले आजसम्म लालपुर्जा पाएका छैनन् । १८ वर्षमा पनि उनीहरू जग्गा नापी हुन नसक्दा सुकुम्बासी भएको पीडा भोग्दै आइरहेका छन् ।

सडक, विद्युत, खानेपानी लगायतका आधारभूत आवश्यकताभन्दा टाढा रहेको परसवाटाडीको सुकुम्बासी बस्तीमा चमार, मुसहर, दुसाद, मुस्लिम, थारू जातिको बसोबास रहेको छ ।

वंशजको नागरिकता पाएका र स्थानीय निर्वाचनमा मत खसाल्ने अधिकार प्राप्त गरेका सुकुम्बासीले हालसम्म पनि लालपुर्जा पाउन नसक्नु विडम्बना नै भएको स्थानीय भोला महतो थारू बताउनुुहुन्छ ।

बेलाबेलामा सरकारले सुकुम्बासी आयोग गठन गर्ने गरेको छ । स्थानियले निवेदन पनि दर्ता गराएका छन् । तर जग्गाको हालसम्म नापी हुन नसक्दा ती दलितहरुलाई लालपुर्जाविहीन भएर बस्नु परेको छ ।

प्रदेश नं २ सरकारसमेत पूर्वाग्रही भएपछि उनीहरू हालसम्म सुकुम्वासी नै भएको गुनासो छ ।

गाउँपालिकाभित्र इलाका प्रशासन कार्यालय पुग्दासमेत जग्गाको लालपुर्जाबारे केही प्रयास हुन नसकेको लालपुर्जा विहीन सुकुम्बासीको गुनासो छ ।


सम्बन्धित समाचार