Logo

२ जेठ, जनकपुर । मधेश प्रदेशका छुटाछुटै स्थानबाट ८ वटा ट्रान्सफर्मर चोरी भएका छन् । सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका ८ वटा डिपट्युबेलका ट्रान्सफर्मर चोरी भएका हुन् । उनीहरु ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न पाएका छैनन् ।

मधेस प्रदेश भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोतरीद्वारा महोत्तरी तथा धनुषाका विभिन्न ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएको सो कार्यालयले जनाएको छ ।

दुवै जिल्लाका डिपट्युवेलवाट चोरी भएका ट्रान्सफर्मर खोजी गर्न प्रहरी प्रशासनलाई पटक–पटक लिखित एवं मौखिक जानकारी गराए पनि कुनै पहल नभएको सिँचाइ विकास कार्यालयका अधिकारीले गुनासो गरेका छन् ।

चालु आर्थिक वर्षमा ५ वटा तथा गत आर्थिक वर्षमा ३ वटा ट्रान्सफर्मर चोरी भएका हुन् । कार्यालयका इन्जिनियर अमलेश यादवका अनुसार चालु आर्थिक वर्षमा औरही गाउँपालिका–२, देउरीपरवाहा धनुषा, नगराईन नगरपालिका फुलगामा धनुषा, मटिहानी नगरपालिका–२ धिरापुर महोत्तरी, भङ्गाहा नगरपालिका–४ पशुपतिनगर महोत्तरी, वलवा नपा–९ अध्ययनपुर महोत्तरीमा जडान गरिएका डिपट्युबेलका ट्रान्सफर्मर चोरिएका हुन् ।

त्यसैगरी गत आर्थिक वर्षमा धनुषाधाम नपा–४ धनुषा, हंसपुर नपा–५ सुगानिकास धनुषा तथा नगराइन नपा फुलगामा जडान भएका ट्रान्सफर्मर हराएका थिए । एउटा ट्रान्सफर्मर जडान गर्न ५ लाख रुपैयाँ खर्च लाग्ने गरेको छ । धनुषा र महोत्तरीमा ४१ वटा डिपट्युबेल जडान गरेर सिँचाइ भइरहेको छ ।

एउटा डिपट्युबेलबाट ४० हेक्टर जमिनमा सिँचाइ हुने गरेको छ । एउटा डिपट्युबेलको निर्माण तथा सञ्चालनमा ७० देखि ९० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ ।

उक्त कार्यालयबाट जाडन भएका ८० वटा पावर ड्रिलट्युवेल प्रयोग गरी सिँचाइको व्यवस्था भएको छ । एउटा ड्रिलट्युवेलबाट तीन हेक्टर जमिन सिँचाइ गर्न सकिन्छ । त्यसको लागत १५ लाख रुपैयाँ छ । यहाँका किसानले डिपट्युवेल जडानका निम्ति अनुरोध गर्दै आएका कार्यालय प्रमुख नयन पोखरेलले जानकारी दिए ।


सम्बन्धित समाचार