Logo

२ जेठ, काठमाडौं । भारतमा बन्धक बनाइएका मधेश प्रदेशका ३५ जना मजदुरको उद्दार गरिएको छ । नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पु¥याएर बन्धक बनाई काममा लगाइएका ३५ जनाको उद्धार गरिएको हो ।

दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा सबै मजदुरलाई कश्मीरबाट उद्धार गरेर मंगलबार दिल्ली ल्याइएको छ ।

मधेश प्रदेशको सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट राम्रो आम्दानीको प्रलोभन दिई दलालले उनीहरूलाई कश्मीर पु¥याएका थिए । तर, कश्मीर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खेसेर ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट, डर धम्की देखाएर काममा लगाउँदै आएको थियो ।

उद्धार गरिएका धनुषाका ३८ वर्षीय रञ्जित चौधरीले भने, ‘दैनिक ११ सय नेपाली रुपैयाँ पाउने भनेपछि यता आइयो, जम्मूमा नाला निर्माणको काममा मजदुरी गर्ने भनिएकोमा त्यहाँ नलगेर कश्मीरको श्रीनगर पु¥याइयो,’ उनले थपे, ‘ठेकेदारले हामीसँग भएका सबै सामान खोसेर तीन महिनादेखि बन्धक बनाएर काम गराउँदै आएको थियो । पैसा त दिएन, दिएन सधैं कुटपिट र धम्की दिँदै आयो ।’ आफूहरुलाई अमानवीय व्यवहार गरिएको गुनासो उनको छ ।

सर्लाहीका अर्जुन सदाले कहिल्यै पनि राम्रो खाना नदिएको बताए । उनीहरूलाई परिवारसँगको सम्पर्कबाट टाढा राखिएको थियो । तीन महिनादेखि अत्यन्तै कष्टकर जीवन बिताउनु परेको उनीहरूको भनाइ छ ।
केही अगाडि मुश्किलले भाग्न सफल भएका दुई जना गाउँ पुगेपछि धेरै मजदुरहरू बन्धक बनाइएको कुरा सर्लाहीका सामाजिक कार्यकर्ता सरोज रायले थाह पाएका थिए । उद्धार कार्यमा जुटेका रायले त्यसपछि आफूले परराष्ट्र मन्त्रालय, दूतावास र ’किन इन्डिया’लाई यस विषयमा सूचना दिएको बताए । उद्धार गरिएकामा सबैभन्दा बढी महोत्तरीका २३, सर्लाहीका ९ र बाँकी धनुषाका छन् । त्यसमा ६ जना नाबालसमेत छन् ।

उद्धारका लागि कश्मीर पुगेका ‘किन इन्डिया’का प्रमुख नवीन जोशीले बिहारबाट नेपाली गाउँमा पुगेका दलालहरूले नेपाली मजदुरलाई फकाएर ल्याएको देखिएको बताए । सुश्रमै ७ हजारको दरले पेश्की नै दिएर विश्वासको वातावरण बनाएको देखिन आएको उनले जानकारी दिए । तर, पछि कश्मीर पु¥याएर बन्धक बनाएर काम लिएको पाइएको उनले बताए ।

दूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी उमाप्रसाद चतुर्वेदीले उद्धार कार्यका लागि कश्मीर प्रहरीको सहयोग पाइएको र दोषीहरूलाई पक्राउ गरेर उनीहरूमाथि कानुनी कारबाहीका लागि समन्वय भइरहेको बताए । ‘पीडितहरू रहेको स्थान पहिचान गर्न र उनीहरूलाई बाहिर निकाल्न स्थानीय प्रहरीको राम्रो सहयोग रह्यो,’ उनले भने ‘किन इन्डिया र सामाजिक व्यक्ति सरोज रायको सक्रियताले उद्धार कार्यमा सफलता हात लागेको छ ।’


सम्बन्धित समाचार