Logo

फइल फोटा

२ जेठ,वीरगञ्ज । बारामा ट्राफिक नियमको उल्लंघनकर्ता बढी रहेको पाइएको छ । बारा प्रहरीले जारी गरेको एक महिनाको तथ्यांकमा जिल्लामा ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या अत्यधिक रहेको पाइएको हो ।
बारा प्रहरीले सार्वजनिक गरेको विवरणमा वैशाख महिनामा मात्रै अढाइ भन्दा बढीले ट्राफिक नियम उल्लंघन गरेका छन् ।

प्रहरीले चलाएको आकस्मिक जाँचमा सवारीसाधनका चालकहरु ट्राफिक नियमविपरीत सवारीसाधन चलाइरहेको खुलासा भएको छ । बारा प्रहरीले जिल्लाका ३० वटा पोइन्टमा प्रत्येक दिन चलाएको एक घण्टा ‘आकस्मिक’ जाँच अभियान चलाएको थियो । यही जाँच अभियानबाट २७५५ वटा दुइ पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनलााई कारबाही गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

उनका अनुसार एक महिनामा संयुक्त जाँच चलाउँदा यतिको संख्यामा ट्राफिक नियम उल्लंघन गर्ने कारबाहीको दायरमा आएका हुन । बारा प्रहरीले यातायात र ट्राफिक प्रहरीसंगको सहकार्यमा संयुक्तरुपमा ट्राफिक नियम कडाइँको अभियान चलाएको थियो ।

यो अभियानले बारामा धेरै फाइदा पुगेको प्रहरी आँँकलन छ । अभियानका कारणले बारा दुर्घटनामा न्यूनीकरण आएको प्रहरी प्रवक्ता न्यौपानेको दाबी छ ।

के–के नियमको भयो उल्लंघन ?

सवारीसाधन चलाउँदा पूर्णरुपमा ट्राफिक नियमको पालना गर्नुपर्ने कानुनी व्यवस्था छ । नियम पालना नगरे त्यसका लागि कारबाहीको समेत व्यवस्था छ, जसको निगरानी तथा कारबाही गर्ने अधिकार प्रहरीलाई छ ।
यही अधिकारलाई प्रहरीले जाँच तथा आकस्मिक जाँचमा प्रयोग गरिरहेका हुन्छन् । बारामा यही अधिकारलाई प्रयोग गरी गरिएको वैशाख महिनामा गरिएको आकस्मिक जाँँचमा ट्राफिक नियम उल्लंघन गर्नेको संख्या अत्यधिक रहेको देखियो ।

खासगरी सवारी चालकहरुले ‘ओभरस्पीड’ मा गाडी चलाउने, हेल्मेट नलगाउने, तीन जना बसेर सवारीसाधन चलाउने, कागजपत्र नबोक्ने जस्ता नियमहरुको बढी उल्लंघन गर्ने भेटिएको प्रहरी प्रवक्ता न्यौपाने बताउँछन् । यसमा मोटरसाइकल चालक र चार पाङ्ग्रे सवारीसाधनका चालकहरु नै बढी रहेको पाइएको उनको भनाइ छ । मूलतः यही नियमहरु बढी उल्लंघन गरेको पाइएको उनी बताउँछन् ।
यो एक महिना चलाइएको अभियानमार्फत नवीकरणा नभएका २८ वटा ब्लुबुक कारबाहीका लागि यातायात कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ ।

राजस्व कति ?
नियम पालना गराउन चलाइएको अभियानबाट प्रहरीले व्यापकरुपमा जरिवाना पनि असुल गरेको छ । प्रत्येक दिन एक घण्टा मात्र चलाइएको आकस्मिक जाँचबाट ३० दिनमा मात्रै २६ लाख भन्दा बढी जरिवाना प्रहरीले असुल गरेको जानकारी दिएको छ ।

वैशाख १ गतेदेखि चलाइएको ट्राफिक नियम पालना गराउने अभियानबाट यही ३१ गतेसम्मको अवधिमा २६ लाख ५० हजार रुपैयाँ राजश्व संकलन भएको बारा प्रहरी प्रवक्ता न्यौपानेले जनाए । जाँचमा ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई सामान्यतः जरिवाना गर्दा यो राजश्व संकलन भएको उनको भनाइ छ । यही अवधिमा १७ वटा भारतीय गाडी कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको प्रहरीले तथ्यांक सार्वजनिक गरेको छ ।


सम्बन्धित समाचार