Logo

२ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकास्थित डिएभी आरबी केडिया स्कुलमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र व्यवस्थित वीरगञ्ज अभियानको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक इन्स्पेक्टर भाष्कर खतिवडाले सवारी दुर्घटना नियन्त्रणका लागि विद्यार्थी सचेत हुनुपर्नेमा जोड दिएका छन् । विद्यार्थीले आफ्ना अभिभावकसँगै आफुले चिनेका व्यक्तिहरुलाई सचेत गराउन सकेमा ट्राफिक सचेतना प्रभावकारी हुने र यसबाट सवारी दुर्घटना नियन्त्रणमा सघाउ पुग्ने उनको विश्वास छ ।

सवारी चालक मात्रै नभएर पैदल यात्रु पनि दुर्घटना पर्ने गरेको बताउँदै उनले सुरक्षित तवरले यात्रा गर्नका लागि ट्राफिक सचेतनाको आवश्यक्ता औँल्याए । सवारी दुर्घटनाका कारण समावेश गरिएको भिडियो सामग्री पनि उनले विद्यार्थीहरुलाई देखाएका थिए । विद्यालय तहबाटै ट्राफिक सचेतनाको थालनी गरिएको व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्कीले जनाए । उनका अनुसार सामुदायिक विद्यालयमा यसअघि नै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।

सोही कार्यक्रमकै निरन्तरता स्वरुप डिएभी आरबी केडिया स्कुलमा प्रशिक्षण दिइएको कार्कीको भनाई छ । वीरगञ्जका सबै विद्यालयमा कार्यक्रमलाई निरन्तरता दिने योजना छ । जसअनुरुप हरेक विद्यालयमा ट्राफिक सचेतना सम्बन्धी सन्देशसँगै ट्राफिक चिन्ह समावेश गरिएको बोर्ड विद्यालय परिसरमा राखिनेछ । यसबाट विद्यार्थीहरुले ट्राफिक नियमका बारेमा जानकारी पाउने उनको विश्वास छ ।

स्कुलका प्रधानाध्यापक राकेश मिश्रले हरेक वर्ष ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सचेत बनाउँदै आएको जानकारी गराए । विद्यालय तहबाटै सचेत बनाएमा परिवर्तन सम्भव हुने मिश्रको भनाई छ । कार्यक्रममा सहभागी कक्षा १०, ११ र १२ मा अध्ययनरत एक सय जना विद्यार्थीले ट्राफिक नियमको पालना गर्ने र गराउने अठोट गरेका हुन् । आफ्नो अभिभावकले हेल्मेट नलगाएमा वा मादक पदार्थ सेवन गरेमा सवारी साधनमा नचढ्ने प्रतिबद्धता पनि विद्यार्थीहरुले व्यक्त गरेको विद्यालयका शिक्षक प्रकाश कर्णले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक राकेश मिश्राको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।


सम्बन्धित समाचार